बागलुङ । पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई प्रतिपरिवार एक लाख प्रदान गरिएको छ । ताराखोला गाउँपालिकाले पहिरोले घर पुरिँदा ज्यान गुमाउनेलाई रु एक एक लाखका दरले परिवारलाई नगद राहत उपलध गराएको हो ।गाउँकार्यपालिकाको निर्णयअनुसार मृतकका परिवारलाई रु एक/एक लाख नगद राहत उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । यही असोज दोस्रो साताको पहिरोमा परि ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको थियो । गाउँपालिका अध्यक्ष विक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, वडाध्यक्षसहितको टोली पीडितको घरमा नै पुगेर राहत रकम प्रदान गरेको हो ।
गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि आर्थिक सहयोग गर्न अपिलसमेत गरेको छ । बाढी पहिरोबाट घरबास, सडक, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत रिजालले जानकारी दिए ।बाढीपहिरो पीडितलाई एनआरएनएले रु पाँच लाख बढीको खाद्यन्न, लत्ता कपडालगायत अत्यावश्यक सामग्री प्रदान गरेको छ । पहिरोले घर पुरिँदा ताराखोला गाउँपालिका–५, सिपका ५५ वर्षीय दिलबहादुर पुन, उहाँकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका र ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।




.gif)



