काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबारदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गर्दै यात्रुको सहजताका लागि महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौ ‘सरोज’ले शुक्रबार बिहानदेखि यात्रुले टिकट बुकिङ गर्न सक्ने जानकारी दिए । चाडपर्वमा हुन सक्ने भिडभाड तथा यात्रु ठगिने प्रवृत्तिलाई व्यवस्थापन गर्न महासंघले सम्पूर्ण तयारी पूरा गरेको उनले बताए ।
अग्रिम टिकट काट्दा यात्रुले तीनवटा विषयमा विशेष ध्यान दिनुपर्ने अध्यक्ष सिटौलाले बताए । उनका अनुसार आफू जाने गन्तव्य, यात्रा गर्ने मिति र समय तथा सिट नम्बर यकिन गरेर मात्रै टिकट लिनुपर्छ ।‘यात्रुहरूले टिकट काट्दा आफ्नो गन्तव्य, मिति र सिट नम्बरमा स्पष्ट भएर मात्र लिनुपर्छ । अनलाइन वा काउन्टर जहाँबाट टिकट लिँदा पनि यी विवरण अनिवार्य रूपमा रुजु गर्नुहोला,’ उनले भने ।महासंघले टिकट बुकिङका क्रममा हुन सक्ने कालोबजारी रोक्न कडा निगरानी गरिने जनाएको छ । तोकिएको भाडादरभन्दा बढी लिने वा टिकट लुकाएर कालोबजारी गर्ने कार्य भेटिएमा कडा कारबाही हुने अध्यक्ष सिटौलाले चेतावनी दिए ।
यात्रुलाई भिडभाडमा नपरी आधिकारिक काउन्टर वा अनलाइन माध्यमबाट मात्रै टिकट लिन महासंघले आग्रह गरेको छ । चाडपर्वको समयमा सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न व्यवसायीलाई पनि सवारीसाधनको अवस्था र चालकको सावधानीमा ध्यान दिन महासंघले निर्देशन दिएको छ ।




.gif)





