images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • पोखरा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डको तेस्रो...

पोखरा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डको तेस्रो पटक म्याद थप

पोखरा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डको तेस्रो पटक म्याद थप

images
images
शनिवार, पौष १९ २०८२
शनिवार, पौष १९ २०८२
  • कास्की, १९ पुसः पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड)को तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एशियाली विकास बैङ्क(एडिबी)को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ ।

    images
    images

    योजनाको यसअघि दुई पटक म्याद थप गर्दासमेत काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको मागअनुसार सडक विभागले विसं २०८३ असार १५ गतेसम्म समय थप गरिदिएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “दोस्रो पटकसमेत तोकिएको समयमा काम नसकिएको र ७५ प्रतिशत मात्र भौतिक प्रगति भएपछि हालै पुनःनिर्माण अवधि बढाइएको छ । अब थपिएको समय चालू आर्थिक वर्षमा चार तथा छ लेन सम्पूर्ण सडक खण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।” 

    images
    images

    योजनाका अनुसार पछिल्लो पटक थप गरिएको म्याद गत डिसेम्बर अन्त्यमा सकिएपछि ६ महिना बढाइएको हो । सडक मापदण्डभित्रको विद्युत् पोल र खानेपानी पाइप स्थानान्तरण तथा रुख कटानमा ढिलाइलगायतका कारणले योजना सम्पन्न हुन ढिलाइ भएको बताइन्छ । 

    यस योजनाको पश्चिम खण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती नदीपुलसम्मको ३८ दशमलव ८८ किमी पर्छ । योजना प्रमुख कुँबरले हालसम्म यस खण्डको तीन चौथाई काम सम्पन्न भएको जानकारी दिनुभयो ।

    प्रथम तहको कालोपत्रे ३७ किमी सकिएको छ । त्यसैगरी दोस्रो तहको कालोपत्रे गर्ने काम करिव ३४ किमी पूरा भएको छ । एकतर्फी कालोपत्र गर्न अब एक किमी बाटो मात्र बाँकी रहेको कुँबरले जानकारी दिनुभयो । त्यसैगरी जामुनेबाट ‘सडक मार्किङ’, ‘थर्मोप्लास्टिक पेन्ट’ र ‘रोड सेफ्टी ब्यारिएर’ राख्ने लगातका काम समेत सुरु भएको छ ।
     
    यस योजनाको चालू आवमा थप ११ किमी चार लेनमा प्रथम तहको र ३० किमी चार लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्रे गरिएको छ । यस खण्डमा एक वटा पुल र दुई वटा कल्र्भट निर्माणसमेत यसै अवधिमा सम्पन्न भएको छ ।

    मुग्लिन–पोखरा पश्चिम खण्डको विसं २०७८ जेठ २ गते निर्माण सम्झौता भएर विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माण गर्न चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनसँग रु सात अर्ब ४० करोडमा ठेक्का सम्झौता गरिएको थियो ।

    विसं २०८१ भदौ १२ गतेसम्म म्याद रहेकामा त्यसअवधिमा उल्लेख्य प्रगति नभएपछि पहिलोपटक १०१ दिनका लागि म्याद थप भएको थियो । यसपछि दोस्रोपटक विसं २०८१ पुसमा एक वर्ष म्याद बढाइएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend