images

२०८३ आश्विन १७ गते

images
images
images

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

images
images
शनिवार, पौष १२ २०८२
शनिवार, पौष १२ २०८२
  • म्याग्दी, १२ पुसः म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्माणको अन्तिम चरणमा पुगेको छ । 

    images
    images

    गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत मङ्गला गाउँपालिका–३ पखेरदेखि तीन किलोमिटर ५०० मिटर दुरीमा सडक ग्राभेल र ढलान गर्न आर्थिक वर्ष २०८०।०८१ देखि पखेर–बरङ्जा ३ र ४ हुैँदै महेश–धापुङ–ताराखोला सडक योजना निर्माण सुरु गरेको थियो । 

    एनके–युनाइटेड जेभीले विसं २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको योजनाको ९२ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले जानकारी दिए। 

    images
    images

    “अठार महिनाको ठेक्का आवधी भएको यो योजनालाई निर्धारित समयभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री ब्यवस्थापन गरेको छ,” उनले भने, “आर्थिक वर्ष २०८०।०८१ देखि म्याग्दीमा सुरु भएका सात वटा सडक र दुई वटा मोटरेबल पुलमध्य पखेर–बरङ्जा सडकको प्रगति अन्य योजनाको तुलनामा अगाडी छ ।”

    विसं २०६६ मा मार्ग खुलेको यो सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण भएको छ । घुम्ति र उकालोमा ५५० मिटर सडक ढलान भएको छ । ग्राभेल भएको सडकको बर्खामा भत्किएको पर्खाल पुनःनिर्माण र बाँकी संरचना निर्माणलाई पूर्णता दिन लागिएको छ । ग्रेड र घुम्ती सुधार भएको छ ।

    खर्कटोलका बासिन्दा मिलन रोकाका अनुसार यसअघि तीनदेखि तीन दशमलब पाँच मिटर फराकिलो कच्चि सडकको घुम्ति, ग्रेड नमिलेको, साघुरो सडक जोखिमयुक्त थियो । “यसअघि जिप, ट्याक्सी र ट्याक्टर मुस्कीलले चल्ने यो सडकमा अहिले दश चक्के ट्रक गाउँमै आउन थालेका छन,” उनले भने “बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछि यात्राअवधी ३० मिनेटमा छोटिएको छ ।” 

    भिरालो पाखाको घुम्तिमा गाडी पार गराउन पछाडि लैजानुपर्ने समस्या हटेको छ । बरङ्जामा उत्पादन भएको दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारमा बिक्रीका लागि लैजान सहज भएको छ । बरङ्जादेखि थामडाडा–सुर्केमेला ह्ँैदै बेनी जोड्ने घुमाउरो कच्चि सडकमा यात्रा गर्नुपर्ने अवस्था हटेको रोकाले बताए। 

    मार्ग खुलेको १७ वर्षपछि सडक स्तरोन्नति भएकोमा बरङ्जाबासी उत्साही भएका सडक निर्माण समितिका तत्कालीन अध्यक्ष मोहनलाल सापकोटाले बताए। “अप्ठ्यारो ठाउँको खण्डमा अहिले सडक सहज भएकोमा खुसी छौँ,” उनले भने, “पखेरदेखि झाक्री पानी सम्मको सबै ११ किलोमिटर सडकलाई स्तरोन्नति गर्न सकेमा अझै सहज हुने थियो ।” 

    सडक निर्माणकार्यको शुक्रबार अनुगमनका लागि बरङ्जा पुगेका म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीलाई स्थानीयबासीले ग्राभेल भएको सडकलाई पक्की बनाउन, झाँक्रीपानी र बुकेनी, धापुङ हुदै ताराखोलाको सिर्पुतर्फ स्तरोन्नतिको योजनाका लागि पहल गर्न आग्रह गरेका थिए । 

    स्थानीयबासी समेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीस, कार्यवाहक वडा अध्यक्ष भेषकुमारी पुनलगायतले सडक स्तरोन्नति योजनालाई निरन्तरताका लागि पहल गर्न प्रस्ताव गरेका थिए । विसं २०८० मा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको नेतृत्व गरेका पूर्वमन्त्री जुग्जालीले प्रदेश सरकारबाट रु १० करोड बजेटको स्रोत सुनिश्चतता गराई बहुवर्षीय ठेक्का लगाइएको थियो । 

    “चालु आर्थिक वर्षमा रु एक करोड ३९ लाख बजेट बिनियोजन भएको यस योजनाका लागि आवश्यक पर्ने थप बजेट ब्यवस्थापनका लागि सरकारसँग पहल भइरहेको छ,” जुग्जालीले भने “मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक योजनाको निरन्तरताका लागि पनि प्रयास गरेका छौँ ।” बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend