काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम स्वीकृतिका लागि श्रमिकहरूले काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।बुधबार सामाजिक सुरक्षा कोषको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम स्वीकृतिको सेवालाई स्थानीय वडा तहसम्मै पुर्याउने योजना रहेको बताए । उनले श्रमिकले विभिन्न झन्झटमा पर्नुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता समेत जनाए ।
मन्त्री भण्डारीले श्रम स्वीकृतिका लागि अहिले भइरहेका प्रशासनिक झन्झटहरूप्रति प्रश्न पनि उठाए । उनले भने- ‘श्रम स्वीकृति, व्यक्तिगत विवरण र वैदेशिक रोजगारीसँग सम्बन्धित सबै प्रक्रियाहरूलाई किन वडा र पालिकामै नदिने ? किन यस्तो ट्रयापिङ र झमेलाहरू सिर्जना गरिन्छ ? हामी यी सबै कुरालाई सिधै वडा तहमा पुर्याएर श्रमिकलाई सहज बनाउन आवश्यक छ।’मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई राज्यले बिदाइ गर्दा नै सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए । ‘कल्याणकारी राज्यले त नागरिक विदेश जाँदै गर्दा ‘लौ तिम्रो पासपोर्ट, तिम्रो श्रम स्वीकृति र सामाजिक सुरक्षाको ग्यारेन्टी भयो, अब ढुक्कसँग जाऊ’ भन्नुपर्ने हो,’ उनले भने ।
उनले श्रम स्वीकृतिलाई एउटा झन्झटिलो प्रक्रियाको रूपमा भन्दा पनि श्रमिकको अधिकार र सुरक्षाको दस्ताबेजको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने क्रम बढ्नुमा श्रम स्वीकृतिको झन्झटिलो प्रक्रिया पनि एउटा कारण रहेको मन्त्री भण्डारीको ठम्याई छ। मन्त्री भण्डारीले श्रम मन्त्रालयभित्र रहेका नीतिगत र प्रक्रियागत अड्चनहरूलाई हटाउन आफू लागिपरेको बताए ।




.gif)





