काठमाडौँ । सडक स्तरोन्नति र मर्मत सम्भारका लागि नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आजबाट पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ । सडक खण्डमा कालोपत्रे तथा चट्टान काट्ने काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सवारी आवागमनमा रोक लगाइएको हो ।यस अवधिमा हरेक दिन बिहान १०ः ३० बजेदेखि दिउँसो ३ः ३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरे भिर क्षेत्रमा सवारी चल्न पाउने छैनन् । मङ्सिर २४ गतेदेखि नै सडक बन्द गरेर काम थालिएको भए पनि एमाले महाधिवेशनलाई असर पर्ने गुनासो आएपछि बिचमा दुई दिन (२६ र २७ गते) सडक खोलिएको थियो ।
एमाले निकट युवा सङ्घको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर आग्रह गरेपछि दिउँसोको समयमा सडक खोलेर सहज बनाइएको थियो । आजबाट भने पुनः नियमित काम अघि बढाइएको छ ।नागढुङ्गा–पिपलामोड खण्डमा कालोपत्रे गर्ने कार्य उच्च प्राथमिकतामा रहेको र उक्त सडक खण्ड साँघुरो भएकाले एकैपटक धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुनाले सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । साथै, गल्छी–गजुरी खण्डको पोखरे भिर क्षेत्रमा चट्टान काटेर सडक चौडा गर्नुपर्ने भएकाले पनि आवागमन रोक्नुपरेको हो ।सडक बन्द भएको समयमा सवारी साधनहरूलाई नागढुङ्गा–पिपलामोड खण्डका लागि काठमाडौँबाट नौबिसेतर्फ जानेलाई नाग ढुङ्गा चेकपोस्टमा रोकिनेछ ।
यस्तै, मुग्लिङबाट काठमाडौँतर्फ जाने सवारीलाई खानीखोला (नौबिसे) र जुंगेखोला (थाक्रे) मा रोकिनेछ भने गल्छी–गजुरी खण्डका लागि नौबिसेबाट मुग्लिङतर्फ जाने सवारीलाई गल्छी, बैरेनी, मस्टारमा र मुग्लिङबाट नौबिसेतर्फ जाने सवारीलाई मलेखुमा रोकिनेछ ।साथै सवारी आवागमन रोक लगाएको अवधिमा वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ । साना तथा मझौला सवारी साधनहरूले अत्यावश्यक अवस्थामा सितापाइला–भिमढुङ्गा–रामकोट–धार्के सडक, सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक र जरेखेतस्थित त्रिशूली पुलबाट त्रिशूली पारीको बाटो हुँदै घाटबेशीको त्रिशूली पुलबाट वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सडक बन्द रहेता पनि एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल र शव वाहनजस्ता अत्यावश्यक सवारी साधनहरूको आवागमनमा भने ट्राफिक प्रहरीले सहजीकरण गर्ने जनाइएको छ । यस्तै,आयोजनाले तोकिएको समय पछि मात्र यात्रा गर्न र रोकिएको समयमा लेन अनुशासन पालना गर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।




.gif)





