images

२०८३ आश्विन १६ गते

images
images
images

कोरला नाकाबाट रु ४ अर्ब ४१ करोड राजस्व सङ्कलन

कोरला नाकाबाट रु ४ अर्ब ४१ करोड राजस्व सङ्कलन

images
images
शनिवार, मंसिर २० २०८२
शनिवार, मंसिर २० २०८२
  • मुस्ताङ, नेपाल . नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ४ अर्ब ४१ करोड राजस्व सङ्कलन गरेको छ। बाढी–पहिरो र नदी कटानका कारण गत असार र भदौमा रसुवागढी तथा तातोपानी नाका अवरुद्ध भएपछि कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको हो।

    images
    images

    मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार कोरला नाका मार्फत हालसम्म रु ९ अर्ब ४८ करोड ३४ लाख बराबरको आर्थिक कारोबार भएको छ। गत ३० भदौदेखि पूर्णरूपमा सञ्चालनमा आएका नाकाबाट चीनतर्फबाट मात्र रु ९ अर्ब ३४ करोड बढीका मालसामान आयात भएका छन्। यहाँ भित्रिएका विद्युतीय सवारीसाधन तथा कन्टेनर ढुवानीका साधनलाई भन्सार जाँचपास गरी गन्तव्यतर्फ पठाइने गरिएको उनले बताए।

    यसैगरी नेपालबाट हस्तकला लगायतका उत्पन्न वस्तुको निर्यात प्रयोजनका लागि गरिएको जाँचपासबाट रु १४ करोड ३४ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

    images
    images

    नाकाको सञ्चालनसँगै साढे दुई महिनामा भन्सार कार्यालयले १,७६१ वटा विद्युतीय सवारीसाधन जाँचपास गरेको छ। साथै १,००० भन्दा बढी ढुवानीका साधन जाँचपास भइसकेका छन् भने १०० भन्दा बढी मालबाहक ढुवानीका साधन जाँचपासको प्रक्रियामा रहेका छन्। चिनियाँ भन्सारमा पनि करिब एक दर्जन ढुवानीका साधन भित्रिसकेका र थप साधन क्रमशः कोरला सडक हुँदै माथि आइरहेका सूचना अधिकारी सिंहले जानकारी दिए।

    भन्सारको काम–कारोबार बढ्दै गएसँगै कार्यालयमा १८ जनाको कर्मचारी दरबन्दी व्यवस्था गरिएको छ। यसअघि ७ जनाको मात्र दरबन्दी रहेकामा अब उपसचिवस्तरको प्रमुख, २ शाखा अधिकृत, ६ नायब सुब्बा, १ लेखपाल, १ कम्प्युटर अपरेटर, १ सवारी चालक र ६ कार्यालय सहयोगी गरी दरबन्दी विस्तार गरिएको मुस्ताङ भन्सारले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend