काठमाडौँ । जब मैले “हामी पोखरा जाँदैछौं” भन्ने सुनेँ, म अत्यन्तै खुसी भएँ। हामी काठमाडौँबाट पोखरा जाने बस चढ्यौं। बाटोमा धार्केमा रोकिएर हामीले चिया पियौं र हिमाल र पहाडहरूको सुन्दर दृश्य हेऱ्यौं। त्यसपछि कुरिनटारमा त्रिशुली नदी देख्यौं, त्यो सफा, नीलो र मनमोहक थियो। त्यसले मेरो मन पगाल्यो।
अबुखैरिनीमा भने पहिरोका कारण ट्राफिक जाममा पर्यौं, तर पनि म र मेरी आमाकी दिदीले खेल्दै रमाइलो गर्यौं। नदीहरू र पहाडहरूले यात्रालाई अझ सुन्दर बनाइरहेका थिए। अन्ततः हामी पोखरा पुग्यौं र पृथ्वीचोकमा बसबाट ओर्लियौं।
हाम्रो होटेलबाट फेवा तालको दृश्य मनमोहक थियो। ताल सुनका सिक्का जस्तै चम्किरहेको थियो। हामी ताल बाराही मन्दिरमा गएर आशीर्वाद पायौं र डुङ्गा चढ्यौं। साँच्चै, फेवा तालमा बिताएका पलहरू जीवनभर सम्झनलायक छन्।
भोलिपल्ट हामी बेगनास ताल गयौं। त्यहाँको शान्त वातावरणले मन शान्त पार्यो। हामीले त्यहाँ ग्रिल गरिएको माछा स्वाद चाख्यौं। स्वादिष्ट, त्यसपछि हामी घान्द्रुकतर्फ लाग्यौं। बाटोमा हिमालहरू निकै नजिक देखिन्थे।
घान्द्रुक पुगेपछि हामीले माछापुच्छ्रे हिमाललाई सुन झैँ चम्किरहेको देख्यौं। हामीले गुरुङ परम्परागत लुगा लगायौं र गाउँ घुम्यौं। बिहानको तातो चिया र हिमालको दृश्य साँच्चै स्वर्गीय लाग्यो।
अन्ततः हामी पुनः पोखरा हुँदै काठमाडौं फर्कियौं। यात्राको अन्त्यमा म थकाइले चुर भए पनि मनभित्र ठूलो खुसी थियो। यो यात्रा मेरो जीवनको अविस्मरणीय सम्झना रह्यो।
आकृति पाण्डेय, कक्षा ४
निसर्ग बटिका विद्यालय




.gif)





