images

२०८३ आश्विन १९ गते

images
images
images

अन्नपूर्णको फेदीमा अवस्थित खयरबराह ताल धार्मिक पर्यटकको रोजाइमा

अन्नपूर्णको फेदीमा अवस्थित खयरबराह ताल धार्मिक पर्यटकको रोजाइमा

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • म्याग्दी।  उत्तर–पूर्वी क्षेत्र अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित पाउद्वारको खोप्रालेक क्षेत्रमा अवस्थित खयरबराह ताल धार्मिक पर्यटन आकर्षणको केन्द्र बनेको छ । संसारको दशौं अग्लो चुचुरो समुन्द्री सतहदेखि ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमालको दक्षिणतर्फ फेदीमा रहेको तालमा पछिल्लो समय पर्यटकहरु पुग्ने गर्दछन् ।
    खयरबराह ताल आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । हिमालको दृश्य तालमा पर्नुले पनि यहाँ थप सुन्दरता झल्किन्छ । हिमालको फेदीमा अवस्थित खयरबराह तालको सुन्दरता र आकर्षणको बारेमा शब्दमा वर्णन गरेर सकिदैन । यहाँ पुग्ने जो कोही पनि ताल नजिकै पुग्नेबित्तिकै मन्त्रमुग्ध हुन्छन् । लामो दुरीको उकालो हिँडेर थकित पाइलाहरु ताल नजिकमा पुगेपछि त्यहाँ देखिने सुन्दर दृश्यले थकानलाई छिनभरमै मेटाइदिन्छ ।
     
    वरिपरीबाट पहाडले घेरिएको र बीच भागमा रहेको तालको पृष्ठभूमीमा देखिने हिमालको छाँया थप रोचक र आकर्षक लाग्छ । यही दृश्यको कारणले गर्दा मानिसहरुको थकान, भोग र तिर्खा भुलाइदिन्छ । समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटरको उचाइमा रहेको खयरबराह ताल झण्डै एक हजार वर्गमिटर क्षेत्रफलमा गोलाकार रुपमा फैलिएको अनुमान गरिएको छ । खयरबराह तालले धार्मिकसँगै प्राकृतिक सौन्दर्यताको हिसाबले पनि पर्यटकीय आकर्षणको सम्भावना उत्तिकै बोकेको स्थानीयवासी बताउँछन् ।
     
    खयरबराह तालदेखि तल भिरालो जमिनमा हरियाली फाँटका साथै चारैतिरको मनोरम दृश्यहरु नियाल्न सकिन्छ । खयरबराह ताल क्षेत्रको विकास गर्नका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीय चन्दादाताहरुमार्फत आर्थिक सहयोग सङ्कलन गरी आवश्यक पूर्वाधारहरुको निर्माण गरिएको खयर क्षेत्रको विकासमा सक्रिय पाउद्वारका स्थानीयवासी लेफ्टिनेन्ट राजु पुनको भनाइ छ । खयरबराह तालसम्म पुग्ने पदमार्ग, थकान मेट्ने चौतारी र आश्रयस्थल निर्माणमा पाउद्वारवासीले ठूलो लगानी गरेका छन् । पछिल्लो समय अन्नपूर्ण गाउँपालिकाले पनि आवश्यक पूर्वाधारहरु निर्माणमा सहयोग गरेको छ ।
     
    बेलायती सेनाबाट सेवानिवृत्त लेफ्टिनेन्ट पुनको पहलमा कुल एक करोड ६० लाख रुपैयाँ चन्दास्वरुप सहयोग उठाएर यसअघि खयरभारानीको मन्दिर, चौतारी, पदमार्ग, आवास, सत्तल, शौचालयलगायत पर्यटनका पूर्वाधारहरु बनाइएको थियो । पर्यटकीय क्षेत्र खोप्रालेकदेखि खयरबराह तालसम्म पुग्नका लागि बीच बीचमा पदमार्ग, चौतारी, खानेपानी र बास बस्ने ठाउँहरु निर्माण गरिएको छ । खयरखोला छेउमा पर्यटकलाई बास बस्नका लागि चारवटा भवन, एउटा ठूलो किचन र शौचालय निर्माण गरिएको खयरभारानीथान तथा क्षेत्र संरक्षण कोषले जनाएको छ । खयरबराह तालमा खासगरी जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्दछ ।
     
    अन्नपूर्ण र धौलागिरि रेञ्जका अधिकांश हिमश्रृङ्खलाहरु देखिने खयर क्षेत्रमा अवस्थित खयरबराह तालमा पर्ने हिमालको प्रतिबिम्ब (छाँया)ले पर्यटकलाई थप मोहित बनाउने गर्दछ । एकै दिनमा पटक–पटक परिवर्तन हुने मौसम र बादलको थुम्काले लुकामारी खेलिरहने यहाँको अर्को थप विशेषता रहेको छ । खयरबराह तालको दर्शन तथा भ्रमण गर्न पुग्नुभएकी आन्तरिक पर्यटक मनिशादेवी पौडेलले खयरबराह क्षेत्रमा आफूले प्रकृति र अध्यात्मको एकसाथ अध्ययन गर्न पाएको अनुभव सुनाउनुभयो ।
     
    खयरबराह ताललाई स्थानीयले खयरभारानीताल समेत भन्ने गर्दछन् । प्रकृतिको आशिर्वाद सँगसँगै खयरभारानीको आशिर्वाद लाग्ने भन्दै नेपाली र भारतीय तिर्थालु तथा तेस्रो मुलुकबाट समेत पर्यटकहरु यहाँ पुग्ने गर्दछन् । स्थानीय किम्बदन्तीअनुसार बाराही माईका नौ बहिनीमध्ये खयरभारानीताल जेठी, पोखराको फेवातालको बीचमा रहेको तालबाराही माईली, अन्नपूर्ण ७ हिस्तानको घराम्दीस्थित पेरीभारानीताल साइँली हुन् ।यसैगरी अन्नपूर्ण गाउँपालिकाककै शिखमै रहेकी कान्छीभारानी, नागीको नागीभारानी, काफलडाँडाको मनिभारानी, खयर क्षेत्रमै रहेका गोर्सेभारानी र कान्छीभारानीसहितका तालहरु खयरभारानीकै बहिनीहरु रहेको स्थानीयवासीले बताउने गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend