दोलखा । कात्तिक १७, दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रको यलुङरी हिमाल नजिक आज बिहान परेको हिमपहिरोमा परेर एक विदेशी नागरिक सहित दुई नेपालीको मृत्यु भएको छ।
प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार आरोहणका लागि गएको टोली बिहान करिब ९ बजे हिमपहिरोमा परेको थियो। उक्त टोलीमा १५ जना विदेशी र स्वदेशी पथप्रदर्शकहरू सहभागी थिए। अन्य आरोहीहरूको अवस्थाबारे भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।
गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष निमगेली शेर्पाका अनुसार बिहानैदेखि उद्धारका लागि प्रशासनसँग आग्रह गरिएको भए पनि ढिलाइ भएको छ। उनले भने, “रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले हेलिकप्टर उडानका लागि अनुमतिमा ढिलाइ हुँदा उद्धारमा समस्या भएको हो।”
प्रहरीका अनुसार हिमपहिरोमा परेकाहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टर पठाइएको छ तर प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न कठिनाइ भइरहेको छ।




.gif)





