म्याग्दी । कात्तिक १६, म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी दरवाङ सडक तीन दिनपछि पुनः सञ्चालनमा आएको छ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने) क्षेत्रमा खसेको पहिरोका कारण बिहीबार देखि मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको बेनी बजार सँगको यातायात सम्पर्क विच्छेद भएको थियो।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलका अनुसार शनिबार बिहान पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो। सडक खुल्नासाथ दरवाङ हुँदै बेनी, पोखरा, काठमाडौं लगायतका विभिन्न सहरतर्फका सवारीसाधन सञ्चालन भएका छन्।
फापरखेत क्षेत्रमा विसं २०६१ सालमा सडक मार्ग खोलिएदेखि नै निरन्तर पहिरोको समस्या देखिँदै आएको छ। पहिरोको स्थायी समाधानका लागि म्याग्दी नदीमा बेलिब्रिज जडान गर्ने योजना बनाइए पनि हालसम्म कार्यान्वयनमा आएको छैन।
दीर्घकालीन रूपमा पहिरो नियन्त्रणको सम्भावना न्यून रहेकाले कार्यालयले अस्थायी रूपमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउँदै आएको छ।




.gif)





