काठमाडौँ । कार्तिक १५, वर्षभरमा पर्ने २४ एकादशी मध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण मानिने हरिबोधनी एकादशी आज देशभर श्रद्धा र भक्तिभावसाथ मनाइँदैछ। यस दिनलाई देवउठनी एकादशी पनि भनिन्छ, जसपछि विवाह, ब्रतबन्ध र शुभ कार्यहरूको सुरुवात हुने धार्मिक परम्परा छ।
राजधानीका बजारहरूमा यस अवसरमा कन्दमूल र फलफूलको माग उल्लेखनीय रूपमा बढेको व्यापारीहरूले जनाएका छन्। विशेषगरी भगवान नारायणलाई चढाइने सक्खरखण्ड र पिँडालुको कारोबारमा आज विशेष चहलपहल देखिएको छ।
धार्मिक परम्परा अनुसार, हरिबोधनी एकादशीका दिन ब्रतालुहरूले भगवान विष्णु र तुलसीको पूजा गरी कन्दमूल, फलफूल र मिठाई चढाउने गर्छन्। त्यसपछि फलाहार गरी ब्रत पूरा गर्ने चलन छ।
कालिमाटी फलफूल तथा तरकारी बजारका व्यापारीका अनुसार, आजको दिनमा माग बढे पनि मूल्यमा मिश्रित प्रभाव परेको छ।
पिँडालु सस्तो भएको छ, बिहीबार प्रति किलो न्यूनतम ९० र अधिकतम ११० रुपैयाँमा कारोबार भएको पिँडालु आज न्यूनतममा ९० रुपैयाँमै स्थिर रहँदा अधिकतम मूल्य १० रुपैयाँ घटेर १०० रुपैयाँमा पुगेको छ।
सक्खरखण्ड भने महँगो भएको छ, यसअघि प्रति किलो न्यूनतम ८० र अधिकतम ९० रुपैयाँ रहेको सक्खरखण्ड आज १० रुपैयाँ बढेर क्रमशः ९० र १०० रुपैयाँ पुगेको छ।
भक्तजनहरूले यस अवसरमा घरघरमा भगवान विष्णु र तुलसीको पूजा आराधना गर्दै धार्मिक कार्यमा सहभागी भइरहेका छन्। हरिबोधनी एकादशीसँगै चार महिनादेखि ‘निद्रामग्न’ रहेको भगवान विष्णु जाग्रत हुने विश्वास गरिएको छ।




.gif)





