काठमाडौँ । कात्तिक ८, काठमाडौंस्थित हायात रिजेन्सी होटलले सेवा बन्द गर्दै कर्मचारी प्रवेशमा रोक लगाएको घटनापछि प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो व्यक्त गरेकी छन्।
प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान होटल व्यवस्थापन सँग सम्पर्क गरी स्थिति बुझेका छन्। उनले व्यवस्थापनलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा सुचारु गर्न आग्रह गरेका छन्।
अर्थमन्त्री खनालले भने, “तपाईंहरू आत्तिनु हुँदैन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौं। सुरक्षाको व्यवस्था सरकारले मिलाउनेछ, विचलित नबनी व्यवसाय निरन्तरता दिनुहोस्।”
सरकारले होटललाई सुरक्षाको पूर्ण प्रत्याभूति दिने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार सरकारले होटल व्यवस्थापनसँग थप छलफल गरी समाधानका उपायहरू तय गर्ने तयारी गरेको छ।
गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएको थियो। सो घटनापछि व्यवस्थापनले सुरक्षा संवेदनशीलता र भौतिक क्षतिको कारण देखाउँदै होटलको सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो।
शुक्रबार जारी सूचनामा होटलका मानव संसाधन निर्देशक मोहम्मद यूसुफ चौधरीले सम्पूर्ण श्रमिकलाई अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन अनुरोध गरेका छन्। सूचनामा भनिएको छ, “होटल मर्मत तथा पुनर्निर्माणको जोखिम र सुरक्षा संवेदनशीलता ध्यानमा राखी सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरिएको छ।”
सरकारले अब होटल पुनः सञ्चालनका लागि आवश्यक सुरक्षा तथा समन्वय पहल तीव्र पार्ने जनाएको छ।




.gif)





