काठमाडौँ । कात्तिक ७, मस्टाङ जिल्लाको थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमै पाइने भ्रप्सा माटो प्रयोग गरेर निर्मित आकर्षक ‘मड रिसोर्ट’ सञ्चालनमा आएको छ। स्थानीय उद्यमी ज्ञानेन्द्र शेरचनले करिब १२ रोपनी जग्गामा दुई करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो रिसोर्ट पूर्ण रूपमा माटोको संरचनामा आधारित छ।
लामो समय काठमाडौँमा होटल व्यवसाय सञ्चालन गरेका शेरचनले बेनी,जोमसोम सडकमार्ग नजिकै जन्मथलो फर्केर व्यवसाय सुरु गरेका हुन्। उहाँका अनुसार थासाङ क्षेत्रमा स्तरीय होटल नहुँदा पर्यटक आकर्षित गर्न “माटोको घर” अर्थात् “मड रिसोर्ट” निर्माण गरिएको हो।
रिसोर्ट निर्माण कार्य सन् २०२० बाट सुरु भए पनि कोभिड महामारी र आन्तरिक कारणले केही समय रोकिएको निर्माण हालै सम्पन्न गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। रिसोर्टमा डाइनिङ हल र किचनबाहेक १० वटा सुविधा सम्पन्न कोठा रहेका छन्।
शेरचनले भने, “यो रिसोर्टमा छड, सिमेन्ट र बालुवा प्रयोग गरिएको छैन। विदेशीले बनाएका भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री संरचनाबाट प्रेरित भएर माटोको भवन निर्माण गरिएको हो।” उहाँका अनुसार समुन्द्री सतहबाट करिब २,५०० मिटर उचाइमा रहेको यो क्षेत्र वर्षभर बस्नका लागि अनुकूल छ।
आगामी योजनाबारे जानकारी दिँदै शेरचनले रिसोर्ट नजिकै एड्भेन्चर अफिस, स्ट्रिम बाथ, कोशेली घर र विभिन्न शो–रुमहरू निर्माण गर्ने तयारी भइरहेको बताए। रिसोर्टका बाहिरी भागमा हिमाली धार्मिक, सांस्कृतिक र जैविक विविधता झल्किने चित्र कोरेर अझ आकर्षक बनाउने योजना समेत रहेको छ।
थासाङ गाउँपालिका भित्रका टिटी ताल, भूतर्छो ताल, सेकुङ ताल, धौलागिरि आइसफल, गुरुसाङ्वो गुफा लगायत स्थल र कालिगण्डकी फाँटमा हुने मोटरसाइकल रेस र साइकल ट्रेल जस्ता साहसिक क्रियाकलापका कारण पनि यो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा उभिँदै गएको छ।
शेरचनले भने, “गाउँमा ठूलो सम्भावना छ, तर विकासका दृष्टिले अझै पछाडि छ। माटोको रिसोर्टमार्फत गाउँको पर्यटन र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छु।”
रिसोर्ट सञ्चालनपछि पर्यटकबाट आएको सकारात्मक प्रतिक्रियाले आफू थप उत्साहित भएको बताउँदै उहाँले थप विकासमुखी परियोजनाहरू सुरु गर्ने योजना रहेको बताए।




.gif)





