काठमाडौँ । कार्तिक ६, भक्तपुर, देशभर तिहारको रौनक छाएको बेला भक्तपुरका किसान भने खेतमा व्यस्त छन् । वर्षदिनको परिश्रमको फसल भित्र्याउने बेला असिना र पानीको चिन्ताले उनीहरूलाई चाडको रमाइलोभन्दा खेततिरै तानिएको छ ।
भक्तपुरका चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान सानुभाइ गिरी भन्छन्,
“दशैं–तिहारको रौनक छ तर हामी किसानलाई असिना पानीको डर भयो, त्यसैले पाकेको धान हतारमा भित्र्याउँदैछौं । धेरै किसानले तिहारको रमाइलो छाडेर खेतमै धान काट्न थालेका छन् ।”
गिरीका अनुसार उनीहरू भाइटिकाको दिन मात्रै विश्राम लिने र बाँकी दिन धान काट्ने, चुट्ने र भित्र्याउने काममा व्यस्त रहने योजना बनाएका छन् । सबै काम सक्न अझै दुई साता लाग्ने अनुमान गरिएको छ ।
उता, चिउरा मिल सञ्चालकहरू खेतमै पुगेर चिउराका लागि धान खरिद गर्न थालेपछि कतिपय किसानले अझै राम्रोसँग नपाकेको हरियो धान पनि सस्तोमा बेच्न थालेका छन् । चाँगुनारायण–७ बागेश्वरीकी प्रमिला कार्कीका अनुसार मिल सञ्चालकले ताइचिन धान प्रतिकिलो रु ८० का दरले खेतमै उठाउन थालेपछि धेरै किसानले काट्नासाथ बिक्री गरिरहेका छन् ।
सूर्यविनायक नगरपालिका–९ चित्तपोलकी सुभद्रा बस्नेत भन्छिन्,
“तिहारको तयारीसँगै धान भित्र्याउने काम थपिएको छ, यो नै वर्ष दिनको आम्दानी हो, त्यसैले चाड–पर्वभन्दा धान नै प्राथमिकता भएको छ ।”
भक्तपुरका ताथली, सुडाल, चित्तपोल, नङ्खेल, कटुन्जे, गुण्डु, सिपाडोल, छालिङ, वागेश्वरी, नगरकोट, दुवाकोट, झौखेललगायत क्षेत्रका किसान अहिले खेतमा धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् ।
सूर्यविनायक–७ गुण्डुका रविन्द्र बस्नेतले भने,
“असिना पानीको डरले धेरै किसानले हरियो धान समेत काट्न थालेका छन् । तिहार भनेर कुर्ने समय छैन, आकाशमा बादल मडारिए पनि खेतमै जानुपर्छ । अहिले सबै आफ्नै धान काट्दैछन्, ज्यामी पाइँदैन, पर्म पनि छैन, त्यसैले धेरैलाई समस्या परेको छ ।”
तिहारको चमक खेतसम्म नपुगे पनि, भक्तपुरका किसानहरूका लागि अहिलेको खुशी धान भित्र्याउने सफलतामै केन्द्रित भएको छ ।




.gif)





