काठमाडौँ । कात्तिक ५, झिसमिसेमै पुनहिल नपुगे यसको यात्रा अधुरो हुन्छ भन्ने मान्यता राखिन्छ। घोरेपानीमा रात बिताएका आगन्तुकहरू सूर्योदयको अनुपम दृश्य अवलोकन गर्न सखारै उठेर उकालो लाग्छन्।
पूर्व क्षितिजमा रङ्ग चढ्दै गर्दा पुनहिलको शिखर पर्यटकले भरिन्छ। हिमचुचुरोमा झुल्किने घामको पहिलो किरणले मनमोहक दृश्य सृजना गर्छ। सूर्योदयका साथ खुल्दै जाने हिमालहरूको अद्भुत छायाँ–प्रकाशले कसैलाई पनि लोभ्याउँछ।
विदेशी पर्यटकहरूले आफ्ना देशका झण्डासहित तस्बिर खिचिरहेका हुन्छन् भने नेपालीहरू चन्द्र सूर्य अङ्कित झण्डासँग भावनात्मक झल्को सँगालिरहेका देखिन्छन्। कतिपय आगन्तुक पुनहिलको क्षणलाई आत्मिक रूपमा सम्झन फोटोमा कैद गरिरहेका हुन्छन्।
प्राकृतिक सौन्दर्यको अनुपम संगम, समुद्री सतहदेखि ३,२१० मिटरको उचाइमा रहेको पुनहिल अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ। यहाँबाट अन्नपूर्ण, धवलागिरि, मनास्लु, लमजुङदेखि गुर्जा हिमालसम्मको पानोरमिक दृश्य अवलोकन गर्न सकिन्छ।
शरद र वसन्त ऋतुमा पुनहिलको सौन्दर्य झन् निखारिन्छ। चैत वैशाखमा राताम्मे देखिने लालीगुराँसको जंगल र हिउँदमा हिमालसँग लुकामारी खेल्ने प्रकृतिको रमणीयता पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ।
पदयात्रा र पहुँच, पुनहिल जाने मुख्य पदमार्ग नयाँपुल,उल्लेरी,घोरेपानी हुँदै पुनहिल हो। हाल म्याग्दी र कास्कीतर्फबाट सडक सञ्जाल पनि विस्तार भइसकेको छ, जसले यात्रालाई छोटो र सहज बनाएको छ।
विदेशी पर्यटकहरू विशेषगरी छोटो अवधिको पदयात्रा रोज्ने भएकाले घोरेपानी–पुनहिल तीनदेखि चार दिनको उत्कृष्ट गन्तव्य बन्न पुगेको छ।
पुनहिलसम्म पुग्न विभिन्न पदमार्ग सञ्चालनमा छन् ।
कास्कीको वीरेठाँटी,उल्लेरी,घोरेपानी
नयाँपुल,घान्द्रुक,घोरेपानी
म्याग्दीको नागी,मोहरेडाँडा,फूलबारी,घोरेपानी
तातोपानी, घार, शिख,घोरेपानी
पुनहिलबाट खोप्रा लेक, टाडापानी, घान्द्रुक, मोहरे डाँडा, पर्वत, मुस्ताङतर्फ समेत पदयात्रा सम्भव छ।
आगमनको अवस्था र पर्यटन प्रवृत्ति
वर्षेनी ३०,००० हाराहारीमा विदेशी पर्यटक पुनहिल पुग्छन्। यस याममा दैनिक दुई सय जति विदेशी पर्यटक आउने गरेको पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनले बताए।
“कात्तिक अझै बाँकी छ, पर्यटक थपिने आशा छ”, उनले भने। यता आन्तरिक पर्यटकहरूको संख्यामा भने क्रमशः वृद्धि भइरहेको छ।
घोरेपानीका व्यवसायीहरूका अनुसार मुख्यतया सूर्योदय, सूर्यास्त र हिमाल हेर्न आउने पर्यटक पुनहिल रोज्छन्। साथै, प्राकृतिक शान्तता, हिमाली जनजीवन र सांस्कृतिक अनुभवको लोभले पनि पर्यटक आकर्षित भइरहेका छन्।
इतिहास र पहिचान, वर्तमान पुनहिल कुनै समय ‘लुङटुङ’ डाँडा थियो। भारतीय सेनाबाट अवकाशप्राप्त स्व.मेजर टेकबहादुर पुनले यस क्षेत्रको नामकरण गर्दै पर्यटन विकासको जग हालेका थिए। उनको स्मृतिमा पुनहिलमा भ्यूटावर निर्माण गरिएको छ।
आज पुनहिल विश्व पर्यटन नक्शामा परिचित नाम बनेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत आएको यस गन्तव्यले अन्तर्राष्ट्रिय प्रचारप्रसार पाएको छ।
अवधारणागत सुधार आवश्यक, हाल पुनहिल प्रवेशका लागि विदेशीले रु. १५० र नेपालीले रु।. ५० तिर्नुपर्छ। घोरेपानीमा २३ वटा सुविधा सम्पन्न होटल सञ्चालनमा छन्, जसमा दैनिक हजारभन्दा बढी पर्यटकलाई सेवा दिन सकिने क्षमता छ।
तर पदमार्ग छोटिने क्रममा परम्परागत पदयात्रा संस्कृति मक्किँदै जानु चिन्ताको विषय बनेको छ। पर्यटक पथप्रदर्शक दिवस गुरुङ भन्छन्, “सडकले सहजीकरण गरे पनि पदयात्राको मौलिकता जोगाउन थप योजना आवश्यक छ।”




.gif)





