काठमाडौँ । असोज १, उपत्यका ट्राफिक प्रहरीले स्वरूप परिर्वतन गरी अत्यधिक आवाज निकाल्ने २७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ।
सवारीसाधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीले हालै सञ्चालनमा ल्याएको विशेष अभियान अन्तर्गत यी मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार, स्वरूप परिवर्तन गरेर चर्को आवाज आउने गरी हर्न वा साइलेन्सर जडान गरिएका मोटरसाइकलहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया थालिएको छ।
“चर्को आवाजका कारण हुने ध्वनि प्रदूषण रोक्न हामीले ठूलो सङ्ख्यामा मोटरसाइकल नियन्त्रणमा लिएका छौँ। यो अभियान निरन्तर रूपमा अघि बढाइने छ,” प्रवक्ता सुवेदीले जानकारी दिए।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार, काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानहरूमा स्वरूप परिवर्तन गरेर चर्को आवाज निकाल्ने मोटरसाइकलहरू सक्रिय रूपमा निगरानीमा राखी नियन्त्रणमा लिइँदै छ।
उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारीसाधनको कुनै पनि भाग तोकिएको मापदण्ड विपरीत परिवर्तन गर्न पाइँदैन। तर पछिल्ला दिनमा ठूलो सङ्ख्यामा मोटरसाइकल चालकहरूले साइलेन्सर पाइप परिवर्तन गरी अत्यधिक ध्वनि उत्पादन गरिरहेको पाइएपछि ट्राफिक प्रहरीले यस्तो अभियान सञ्चालन गर्नुपरेको हो।
ट्राफिक प्रहरीले जनस्वास्थ्य र सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै ध्वनि प्रदूषण नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ।




.gif)





