काठमाडौँ । असोज २७, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। कम्पनीमा लामो समयदेखि जारी अभिकर्ता आन्दोलन चर्किंदै गएपछि कर्णले अन्ततः राजीनामा दिनुपरेको हो।
कम्पनी स्रोतका अनुसार कर्णले अभिकर्ताहरूले उठाएका माग समाधान गर्न पहल गरेका थिए, तर कम्पनीको बोर्ड र व्यवस्थापन बीच सहमति जुट्न नसकेपछि उनी राजीनामा दिन बाध्य भएका हुन्। कर्णले आफुले सीईओको रूपमा काम गरेका अवधिमा कम्पनीको व्यावसायिक विस्तार, सेवा गुणस्तर सुधार र डिजिटल रूपान्तरणमा काम गरेको दाबी गरे पनि अभिकर्ताको आन्दोलन अन्त्य गर्न नसकेको स्वीकार गरेका छन्।
अभिकर्ताहरूले कमिसन संरचना पुनरावलोकन, बोनस नीतिमा सुधार र अभिकर्ता कल्याण कोषको पारदर्शी व्यवस्थापनको माग गर्दै केही महिनादेखि आन्दोलन गर्दै आएका थिए। उनीहरूले काठमाडौँदेखि बाहिरी जिल्लासम्म धर्ना, विरोध प्रदर्शन र कार्यविरोध कार्यक्रम सञ्चालन गर्दै आएका थिए।
यस आन्दोलनका कारण कम्पनीको व्यवसाय र बजार विस्तारमा नकारात्मक प्रभाव परेको जनाइएको छ। कर्णको राजीनामा पछि कम्पनीले नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिसकेको छ। कम्पनीको सञ्चालक समितिले निकट भविष्यमा नयाँ सीईओ नियुक्त गर्ने र अभिकर्ताहरूसँग संवाद मार्फत समस्या समाधान गर्ने जनाएको छ।
मनोजकुमार लाल कर्णले यसअघि विभिन्न बीमा कम्पनीहरूमा उच्च पदमा रहेर काम गरिसकेका अनुभवी व्यक्तित्व हुन्। पछिल्ला घटनाक्रमका कारण कार्यकाल नसकिँदै उनले पदबाट राजीनामा दिएका हुन्।




.gif)





