काठमाडौँ । असोज २७, यस वर्षको तिहार पर्व नजिकिँदै गर्दा देशभर करिब ४५ लाख थान फूलमालाको खपत हुने अनुमान गरिएको छ। पुष्प व्यवसायी संगठन नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार बढ्दो बजार माग र फूल खेतीप्रतिको आकर्षणका कारण कुल मागको ९० प्रतिशत स्वदेशी उत्पादनले नै पूरा गर्ने अपेक्षा गरिएको छ।
तिहार आउन एक साता मात्र बाँकी रहँदा सयपत्री, मखमली, गोदावरी फूल टिप्ने र माला बनाउने काम देशभर तीव्र रूपमा अगाडि बढेको छ। फ्यानका अनुसार यस वर्ष ४० लाख सयपत्री माला, ५ लाख ५० हजार मखमली माला, ५० हजार गोदावरी माला र २० हजार मिक्स मालाको आपूर्ति हुने अनुमान गरिएको छ।
मूल्यतर्फ हेर्दा, थोक बजारमा सयपत्री माला प्रति थान ८०,८५ रुपैयाँ र मखमली माला ४०,४५ रुपैयाँ पर्नेछ। खुद्रा बजारमा भने सयपत्री माला १२०,१२५ रुपैयाँ र मखमली माला ८०,८५ रुपैयाँ पर्ने अनुमान छ। यस्तै, मिश्रित माला ३ सयदेखि १ हजार रुपैयाँसम्म र गोदावरी माला १ हजारदेखि ३ हजार रुपैयाँसम्म पर्न सक्ने फ्यानले जनाएको छ।
हाल नेपाल फूल उत्पादनमा झन्डै ९० प्रतिशत आत्मनिर्भर भइसकेको छ। बाँकी १० प्रतिशत माला विशेष गरी मिक्स मालाका लागि चाहिने केही फूल विदेशबाट कानुनी प्रक्रिया सहित आयात गरिँदै आएको छ।
देशभर ५२ जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा फूल खेती हुँदै आएको छ भने पुष्प व्यवसायमा संलग्न व्यवसायी, नर्सरी, कट फ्लावर उत्पादक, खुद्रा तथा थोक व्यापारी, इनपुट सप्लायर र लुज फ्लावर उत्पादकको संख्या १,२३५ नाघिसकेको छ।
पुष्प क्षेत्रमा हालसम्म ८ अर्ब ८३ करोड रुपैयाँ लगानी भइसकेको छ। यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ५३ हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ।
नेपालबाट जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएई, माल्टा लगायतका देशमा बल्ब, ट्युबर रुट्स, ड्राइ र फ्रेश फ्लावर निर्यात भइरहेको छ। उता भारत, नेदरल्यान्ड, जर्मनी, चीन, जापान र केन्याबाट बीउबिजन तथा पुष्पजन्य वस्तु आयात गरिँदै आएको छ।




.gif)





