काठमाडौँ । वीरगञ्ज, पर्सा सरकारले महिला उद्यमीलाई घरेलु तथा साना उद्योग दर्ता गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत छुट दिने व्यवस्था गरेपछि पर्सा जिल्लामा महिला उद्यमशीलता प्रति आकर्षण उल्लेख्य रूपमा बढेको देखिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका अनुसार पछिल्लो आर्थिक वर्षमा दर्ता भएका ९६३ वटा नयाँ उद्योगमध्ये ३६३ उद्योग महिला उद्यमी सञ्चालकको नाममा दर्ता भएका छन्। कार्यालयका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारका अनुसार पछिल्लो समय महिलाहरू स्व–उद्यममा अघि बढ्न थालेका छन्, जसमा सरकारी छुटको प्रावधानले थप उत्प्रेरणा दिएको छ।
“विगतमा महिलाहरूले आफ्नै नाममा उद्योग दर्ता गर्न हिच्किचाउने गर्थे। तर अहिले महिलाहरू स्वावलम्बी बन्ने र उद्यमशीलतामा लाग्ने क्रम बढेको छ,” प्रमुख पञ्जीयारले भन्नुभयो, “३५ प्रतिशत छुटको व्यवस्थाले पनि उद्योग दर्तामा महिलाको सहभागिता बढाउन उल्लेख्य भूमिका खेलेको छ।”
कार्यालयको तथ्यांकअनुसार सोही वर्षमा ६३५ जना पुरुष उद्यमीले पनि नयाँ उद्योग दर्ता गराएका छन्। ती उद्योगहरूले हालसम्म १,७३७ जना पुरुष र १,१६१ जना महिलालाई रोजगारी सिर्जना गरिसकेका छन्।
प्रमुख पञ्जीयारका अनुसार तराई–मधेस क्षेत्रजस्तो परम्परागत सामाजिक संरचना भएको ठाउँमा पनि महिला उद्यमीको सक्रियता बढ्नु सकारात्मक संकेत हो। “एक दशकअघि महिला उद्यमीका नाममा उद्योग दर्ता हुने दर निकै न्यून थियो। अहिले त्यो अवस्था सुधार हुँदै गएको छ,” उहाँले थप्नुभयो।
महिला उद्यमीको बढ्दो संख्याले स्थानीय रोजगारी सिर्जना मात्र होइन, समग्र आर्थिक सशक्तिकरणमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ।




.gif)





