काठमाडौँ । असोज २६, हुम्ला उत्तरी नाम्खा गाउँपालिका–६ स्थित लिमी क्षेत्र घुम्न गएका ४० जनाभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक हिमपातका कारण तुम्लिङमा अलपत्र परेका छन्। सोमबार र मङ्गलबार परेको लगातारको बाक्लो हिमपातका कारण उनीहरू सिमकोट फर्कने क्रममा न्यालु लेकको बाटो अवरुद्ध भएपछि अघि बढ्न नसकी तुम्लिङमै रोकिएका हुन्।
स्थानीय उब्जन रावतका अनुसार हिमपातपछि न्यालु लेक क्षेत्रमा करिब तीन फिट भन्दा बढी हिउँ जमेको छ, जसका कारण कुनै पनि सवारीसाधन सो क्षेत्र पार गर्न सकेका छैनन्। हिउँ पन्छाउने प्रयास गरिए पनि बाटो खुलाउने काम अझै अघि बढ्न सकेको छैन। शनिबार केही समय घाम लागेपनि यात्रुहरूले हिउँ हटाउन सकेनन्।
“हिउँ पन्छाउन टेलिफोन सेवा काम नगरेपछि करिब साढे एक घण्टा पैदल हिँडेर सम्बन्धित निकायमा खबर गरियो,” रावतले जानकारी दिनुभयो।
यसैबीच, तुम्लिङमै रहेका अर्का पर्यटक पवन रोकायाले बाटो अवरुद्ध हुँदा यात्रुहरूलाई निकै समस्या परेको बताएका छन्। उनीहरूले खाद्यान्न, बास र सञ्चार जस्ता सेवामा पनि कठिनाइ भोग्नु परिरहेको छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीका अनुसार न्यालु लेकमा जमेको हिउँ हटाउने प्रयास तीव्र रूपमा भइरहेको छ। “आज सम्भव नभए सोमबार सम्म सडक खुलाउने योजना रहेको छ,” उहाँले जानकारी दिनुभयो। यस सडकको व्यवस्थापन पूर्वाधार विकास कार्यालयले गर्दै आएको छ।




.gif)





