काठमाडौँ । असोज २४, रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय, धरहरी का प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्।
शुक्रबार राति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। प्रधानाध्यापक साहले विद्यालयमा सञ्चालन हुन लागेको माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गराइदिने प्रलोभन देखाएर साढे चार लाख रुपैयाँ घुस मागेको आरोप छ।
साहका सहयोगी अरविन्द प्रकाश साह पनि उक्त रकम लिँदै गरेको अवस्थामा वीरगञ्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट रंगेहात पक्राउ परेका हुन्।
सूचनाको आधारमा अपरेशन,सूचनाको आधारमा अख्तियारको टोली वीरगञ्जमा खटिएको थियो। वीरगञ्ज निवासी एक शिक्षकले परीक्षामा सहभागी हुन फारम भरेका थिए, र घुस मागिएको भन्दै उजुरी दिएका थिए।
घटनामा संलग्न दुवै जनालाई थप अनुसन्धानका लागि शुक्रबार राति नै काठमाडौँ लगिएको अख्तियार स्रोतले जनाएको छ।
प्रहरीको पुष्टि,रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले पनि प्रधानाध्यापक साह पक्राउ परेको पुष्टि गरेका छन्। उनले भने, “शिक्षक नियुक्तिका क्रममा घुस लिएको कुरा आएको छ, तर ठ्याक्कै के हो भन्नेबारे विस्तृत विवरण अनुसन्धान पछि मात्रै थाहा हुनेछ।”
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।




.gif)





