काठमाडौँ । असोज २४, राष्ट्र बैंकले सुन आयातमा कडाइ कम गर्दै दैनिक आयात कोटा ५ किलोले बढाएको छ। यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउने वाणिज्य बैंकहरू अब २५ किलो सुन आयात गर्न सक्ने भएका छन्। विश्व बजारमा सुनको मूल्य र माग उच्च भएको अवस्थामा बैंकले कोटा बढाएको हो।
सुन आयात कोटा वृद्धि संगै रेमिट्यान्स (विप्रेषण) सम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। राष्ट्र बैंकका अनुसार अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयहरूले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका प्रयोजनका लागि विदेशबाट प्राप्त हुने, फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी मार्फत सम्बन्धित लाभग्राही (बेनेफिसियरी) को खातामा दैनिक २५ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ।
यसअघि यो सीमा २० लाख रुपैयाँ मात्र थियो। भुक्तानी प्रक्रिया सम्पन्न गर्दा प्रचलित नियमअनुसार ग्राहकको पहिचानसम्बन्धी कागजात लिनुपर्नेछ।
साथै, नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा तयार पारेर, प्रत्येक महिना समाप्त भएको सात दिन भित्र सम्बन्धित विभागहरू, विप्रेषण विभाग, सुपरिवेक्षण विभाग तथा आर्थिक अनुसन्धान विभागमा पेश गर्नुपर्नेछ।





.gif)





