काठमाडौँ । असोज २३, ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गर्दै, परम्परागत रथयात्रा सहित काठमाडौंको पुरानो बस्ती हाँडीगाउँमा बुधबार सत्यनारायणको जात्रा विशेष हर्षोल्लासका साथ सम्पन्न गरिएको छ। बडादसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने यो जात्रा अद्वितीय मौलिकता बोकेको सांस्कृतिक पर्वका रूपमा चिनिन्छ।
जात्राको प्रारम्भ कोजाग्रत पूर्णिमाको दिन त्रिदेव,ब्रह्मा, विष्णु र महेश्वरका मूर्तिहरू बाहिर निकालेर गरिन्छ। त्यसपछि तीन दिनसम्म तीन वटा रथ (खट) नगर परिक्रमा गराइन्छ, जसमा स्थानीय बासिन्दाहरू पूजा अर्चना र स्वागतमा सहभागी हुन्छन्।
विशेष बासना भएका फूलहरू र रथ सजावटमा प्रयोग गरिएका मैनबत्तीसँग सम्बन्धित आकर्षणले पनि जात्रालाई विशिष्ट बनाएको छ। रथको गजुर घुमाउँदा झर्ने ती फूलहरू प्रसूति पीडामा रहेका महिलालाई सुँघाउँदा पीडा कम हुने जनविश्वास छ, जसले जात्रामा धार्मिक आस्थालाई थप बलियो बनाएको छ।
स्थानीय बासिन्दा बाबुराम महर्जनका अनुसार, यो जात्रामा प्रयुक्त तीनैवटा रथहरू ‘उल्टो’ दिशामा घुमाइन्छ, जसले गर्दा यसलाई ‘कहीँ नभएको जात्रा’ का रूपमा चिनिन्छ। अर्का एक स्थानीय कृष्णगोपाल श्रेष्ठका अनुसार, विश्वकर्माले निर्मित त्रिदेवका मूर्तिहरूको एकैसाथ दर्शन गर्नाले मनोकामना पूरा हुने र महालक्ष्मीको बास हुने विश्वास गरिएको छ।
जात्राको उत्पत्तिसँग सम्बन्धित किंवदन्ती अनुसार, एक महिलाले १२ वर्षसम्म सन्तान नहुँदा नारायणको आराधनाका लागि हिमालय पर्वतमा तपस्या गरिन्। नारायणलाई कहीँ नभएको जात्राु देखाउने वाचा गर्दै प्रसाद पाएकी ती महिलाले सन्तान प्राप्त गरेपछि हाँडीगाउँमा आएर यस जात्राको सुरुवात गरेकी गरिन्छ।
यसरी धार्मिक आस्था, सांस्कृतिक धरोहर र स्थानीय जनजीवनको गहिरो सम्बन्ध झल्काउने यो जात्रा काठमाडौँ उपत्यकाको महत्वपूर्ण सांस्कृतिक सम्पदा मानिन्छ।




.gif)





