काठमाडौँ । असोज २०, प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन्। बैठक भोलि मंगलबार बिहान साढे ११ बजे बस्नेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, बैठकमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने रणनीति तय गरिनेछ। बैठकमा विशेष गरी राहत कार्यलाई प्रभावकारी बनाउने, बाढी तथा पहिरोबाट क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायतका महत्त्वपूर्ण निर्णयहरू गरिने बताइएको छ।
भट्टका अनुसार अविरल वर्षापछि आएका बाढी र पहिरोका कारण हालसम्म ४५ जनाको मृत्यु भएको, ६ जना बेपत्ता भएको र २४ जना घाइते भएका छन्। घाइतेहरूको प्रशासनको समन्वयमा निःशुल्क उपचार भइरहेको छ भने पीडित परिवारका लागि खाद्यान्न लगायत आवश्यक राहत सामग्रीको व्यवस्था भइरहेको जानकारी पनि उनले दिएका छन्।




.gif)





