काठमाडौँ । असोज २०, नेपाली मौलिकता र पहिचानसँग गाँसिएको ढाका कपडा आज राष्ट्रिय गौरवको प्रतीक बनेको छ। यही परम्परागत सीपलाई आधुनिक व्यवसायिक स्वरूप दिँदै उद्यमी कल्पना लिम्बू ढाका कपडाको क्षेत्रमा एक सफल उदाहरणका रूपमा उभिएकी छन्। उनको व्यवसाय नेपाल देखि अमेरिका सम्म फैलिएको छ।
पूर्वी नेपालको पाँचथरमा शैक्षिक परिवारमा जन्मिएकी लिम्बूको जीवनले १३ वर्षको उमेरमै वैवाहिक जिम्मेवारी बोक्नु पर्यो। वैवाहिक सम्बन्ध विफल भएपछि उनले जीवनका चुनौतीहरूलाई आत्मबलका साथ सामना गर्दै आत्मनिर्भर बन्ने निर्णय गरिन्।
२०६४ साल देखि निरन्तर रूपमा ढाका कपडाको उत्पादन र प्रवर्द्धनमा लागेकी लिम्बूले काठमाडौँ चाबहिलमा कल्पना ढाका बुटिक सेन्टर सञ्चालन गर्दै आएकी छन्। यहाँ सबै प्रकारका ढाका कपडा र उत्पादनहरू उपलब्ध छन्। हाल यो बुटिक मार्फत २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने उनले ५ हजार भन्दा बढीलाई सीपमूलक तालिम प्रदान गरि सकेकी छन्।
ढाका कपडाको प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको कदरस्वरूप लिम्बूलाई तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारीले सम्मानित गरेकी थिइन्। साथै, उनको नेतृत्वमा अमेरिका समेत ढाका कपडाको आउटलेट सञ्चालनमा आएको छ, जसले नेपाली परम्परागत पोशाकलाई अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउन मद्दत गरेको छ।
ढाका कपडाको प्रयोग अब केवल परम्परागत पोशाकमा सीमित छैन। लिम्बूका अनुसार अहिले दैनिक जीवनदेखि विशेष समारोहहरूमा समेत ढाका कपडाको प्रयोग व्यापक रूपमा बढेको छ। पुरुषका लागि ढाका टोपी, खाडिको दौरा–सुरुवालदेखि महिला र बालबालिकाका लागि सारी, चोलो, झोला तथा ओछ्याउने सामग्रीहरू अत्यधिक मागमा छन्।
ढाका कपडाको सांस्कृतिक महत्व नेपाली संगीत र साहित्यमा पनि देखिन्छ। जस्तै, गायिका कुन्ती मोक्तानको स्वरमा रहेको “चोली राम्रो पाल्पाली ढाकाको‘” गीतले यसको सौन्दर्य र सांस्कृतिक मूल्यलाई अझ बलियो बनाएको छ।
परम्परागत करघामा हातैले बुन्ने यो कपडा कपास, रेशम वा विभिन्न धागोहरू प्रयोग गरेर विविध रंग र डिजाइनमा तयार पारिन्छ। यसको उत्पत्ति तेह्रथुम जिल्लाको ढकुटा (ढाका) क्षेत्रबाट भएको मानिन्छ।
आज ढाका कपडा केवल पहिचानको प्रतीक नभई महिला सशक्तिकरण र आर्थिक समृद्धिको गतिशील माध्यमका रूपमा उभिएको छ।




.gif)





