काठमाडौँ । असोज १९, अविरल वर्षा र प्रतिकूल मौसमका कारण स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडानहरू आइतबार बिहानदेखि पुनः नियमित भएका छन्।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार शनिबार दिउँसो देखि स्थगन गरिएका आन्तरिक उडान तथा अवतरणहरू आइतबार बिहान मौसममा सुधार आएसँगै पुनः सुचारु भएका हुन्। “बिहान देखि मौसममा सुधार आएको छ, अहिले हाम्रा नियमित उडान तथा अवतरण भइरहेका छन्,” उनले भने।
उडान नियमित भए सँगै विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको चाप उल्लेख्य रूपमा बढेको जनाइएको छ। शनिबार उडान रोकिँदा रोकिएका यात्रुहरू आज गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।
आज बिहान त्रिभुवन विमानस्थलबाट नेपालगञ्ज र भद्रपुरतर्फ उडान भइसकेको छ भने पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेकाले अन्य उडानहरू पनि सुचारु भएका छन्।
यता, अन्तर्राष्ट्रिय उडान तथा अवतरण भने शनिबार बेलुकीदेखि नै नियमित रहेको विमानस्थल कार्यालयले जनाएको छ।




.gif)





