काठमाडौँ । असोज १९, केडिया अर्गनाइजेशनद्वारा प्रवद्र्धित महावीर एग्रो प्रोडक्टको वार्षिक व्यापार सन् २०२५ मा ५० प्रतिशतले घटेको छ। कम्पनीले सन् २०२४ मा ३ अर्ब १ करोड ६० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२५ मा उक्त रकम घटेर १ अर्ब ५१ करोड ७० लाख रुपैयाँमा झरेको छ।
कम्पनीले सन् २०२३ मा २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। सन् २०२१ मा स्थापना भई २०२३ देखि व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले धान प्रशोधन गरी राजहंशु,नेपाली चुलोु र गुड लक ब्रान्डमा चामल बिक्री गर्दै आएको छ।
पर्सामा रहेको उद्योग सँग वार्षिक ८४ हजार मेट्रिक टन धान प्रशोधन गर्ने क्षमता रहेको कम्पनीले भारतबाट कच्चा धान आयात गरी चामल उत्पादन गर्दै आएको हो। व्यापारमा आएको गिरावटका कारण कार्यशील पुँजी लगानीमा समेत उल्लेख्य गिरावट आएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, सन् २०२५ मा कार्यशील पूँजीको तीव्रता ६० प्रतिशत पुगेको छ, जुन सन् २०२४ मा ३२ प्रतिशत मात्र थियो। यसले कम्पनीको नकद प्रवाह र वित्तीय सञ्चालनमा प्रत्यक्ष असर पारेको बताइएको छ।
महावीर एग्रो प्रोडक्टमा मुक्तीकुमार अग्रवालको ४५ प्रतिशत, रतनलाल केडियाको ३७ प्रतिशत, सन्जयकुमार अग्रवालको ११ प्रतिशत र दिप्ती अग्रवालको ८ प्रतिशत स्वामित्व रहेको छ।
वित्तीय व्यवस्थापन सुदृढ पार्न कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५ करोड र अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँको दररेटिङ गराएको छ। कुल १ अर्ब ७८ करोड रुपैयाँ बराबरको कर्जा व्यवस्थापनका लागि कम्पनीले पहल थालेको हो।




.gif)





