काठमाडौँ । असोज १९, रसुवाको लाङटाङ क्षेत्रको पदयात्रामा गएका भक्तपुरका चार जना युवा बेपत्ता भएका छन्। भक्तपुरबाट गएको १६ जनाको टोलीमध्ये चार जना शुक्रबार राति आएको बाढीले बगाउँदा हराएका हुन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्छामा आएको बाढीका कारण चार जना पदयात्री बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ की २५ वर्षीया संस्कृति श्रेष्ठ, २५ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीया सङ्गीता श्रेष्ठ तथा भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ रहेका छन्।
स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खोजी तथा उद्धार कार्यमा खटिएको प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिनुभयो।
प्राकृतिक प्रकोपका कारण लाङटाङ क्षेत्रमा पदयात्रा गर्नेहरूको जोखिम बढिरहेको भन्दै स्थानीय प्रशासनले सावधानी अपनाउन पदयात्रीहरूलाई आग्रह गरेको छ।




.gif)





