काठमाडौँ । असोज १८,आश्विन शुक्ल पक्षको द्वादशी तिथि रहेको आजको दिन हिन्दु धर्ममा विशेष धार्मिक महत्व बोकेको छ। यस दिन शनिदेवको विशेष पूजा आराधना गरिन्छ। साथै, आज विश्व पशु दिवस पनि हो।
हिन्दु शास्त्र अनुसार शनिबारको दिन शनिदेवलाई प्रसन्न पार्ने अनेक उपायहरू उल्लेख गरिएका छन्। शनि देवलाई न्यायका देवता मानिन्छ जसले हरेक व्यक्तिको कर्मअनुसार फल दिने विश्वास गरिन्छ। उहाँ सूर्यका पुत्र, छायाका सन्तान तथा यमराजका भाइ र यमुनाका दाजु हुन्।
आजको दिन शनिदेवको व्रत बस्ने, कालो तिल तथा छालाको जुत्ता–चप्पल दान गर्ने, पिपलको रुखमा जल चढाउने र शमीको रुखको पूजा गर्ने परम्परा रहिआएको छ। साथै, शनिदेवलाई तेल चढाउने र हनुमानको सामु सर्स्युको तेलको दीप बालेर हनुमान चालीसा पाठ गर्दा ग्रहदोष तथा शनि दोषको निवारण हुने विश्वास गरिन्छ।
धार्मिक विश्वास अनुसार शनिदेवलाई प्रसन्न पार्न कडा परिश्रम, अनुशासन, र धार्मिक आचरणको पालना आवश्यक हुन्छ। धर्मशास्त्रमा उल्लेख छ, जसले सत्य, नीति र धर्मको मार्ग अपनाउँछ, शनिदेव सधैं उसका पक्षमा रहन्छन्।
आज शनिबारको दिन धार्मिक कार्यका साथै पशुप्रति दया र संरक्षणको भावना अभिवृद्धि गर्ने विश्व पशु दिवस पनि हो। यो अवसरमा विभिन्न संस्था तथा व्यक्ति पशु अधिकारको संरक्षण र उनीहरूप्रति मानविय व्यवहारको सन्देश फैलाउने कार्यक्रम आयोजना गर्दैछन्।




.gif)





