काठमाडौँ । असोज १७, हिमाली जिल्ला हुम्लामा चाडपर्व लक्षित सहुलियत पसलबाट ८१ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री वितरण गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सिमकोट शाखाका अनुसार हालसम्म सहुलियत दरमा ८१ लाख ४३ हजार २५२ रुपैयाँ बराबरको खाद्यान्न बिक्री भएको हो।
दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर गत भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइएको थियो। पसल मार्फत हालसम्म १,०५७.२४ क्विन्टल चामल, २,००० केजी चिनी र २४६ लिटर तेल बिक्री गरिएको शाखा प्रमुख कृष्णबहादुर थापामगरले जानकारी दिए।
शाखाले उपभोक्ताको माग अनुसार सात प्रकारका चामलहरू बिक्री गर्दै आएको छ। गोदाममा हाल ७,१०१.६७ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ, जसबाट सहुलियत दरमा वितरण भइरहेको हो। उपभोक्ताको माग अनुसार चार देखि पाँच बोरा चामल एक पटकमा बिक्री भइरहेको र विगतजस्तो तोकिएको परिमाणमा मात्र वितरण गर्नु नपरेको शाखाले जनाएको छ।
साथै, अदानचुली गाउँपालिकाको श्रीनगरस्थित डिपो कार्यालयबाट पाँच सय क्विन्टल चामल, पचास क्विन्टल चिनी र एक हजार लिटर तेल कोटामा प्राप्त भई बिक्री भइरहेको छ। याल्वाङ बिक्री केन्द्र मार्फत एक सय क्विन्टल खाद्यान्न वितरण भइसकेको छ भने सर्केगार्ड गाउँपालिकास्थित डिपोबाट पनि जनशक्ति परिचालन गरी सहुलियत पसल सञ्चालनमा ल्याइएको छ।
खाद्य कम्पनी लिमिटेडले चाडपर्व लक्षित गर्दै चामल र चिनीमा प्रतिकेजी ५ रुपैयाँ र तेलमा प्रतिलिटर ७ रुपैयाँ छुटको व्यवस्था गरेको छ।




.gif)





