काठमाडौँ । असोज १७, चाडपर्व नजिकिँदै जाँदा आन्तरिक हवाइ सेवा प्रदायक कम्पनीहरुले टिकट भाडा वृद्धि गरेका छन्। दसैं, तिहार र छठको अवसरमा यात्रुको अत्यधिक चाप हुने भन्दै वायुसेवा कम्पनीहरुले काठमाडौँबाट देशका विभिन्न गन्तव्यमा पुग्ने अधिकतम हवाइ भाडा बढाएका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा कम्पनीहरूले पठाएको नयाँ भाडादरलाई स्वीकृति दिँदै असोज १६ गते सूचना प्रकाशित गरेको छ। प्राधिकरणका अनुसार यात्रुको हितमा अधिकतम भाडा सीमित गर्नुपरे पनि व्यावसायिक चाप र चाडपर्वको चापलाई ध्यानमा राखेर स्वीकृति दिइएको हो।
तर यात्रुहरू भने उक्त भाडा अत्यधिक भएको गुनासो गरिरहेका छन्। काठमाडौँ विराटनगर मार्गको भाडा अघिल्लो वर्षको ८,१३७ रुपैयाँ बाट बढेर ९,७८५ रुपैयाँ पुगेको छ। काठमाडौं–पोखरा मार्गमा अहिले अधिकतम भाडा ६,६३५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५,३७७ रुपैयाँ थियो।
अन्य मार्गको नयाँ अधिकतम भाडा यसप्रकार छः
काठमाडौँ–भद्रपुरः १२,११२ रुपैयाँ
काठमाडौँ–जनकपुरः ५,४७० रुपैयाँ
काठमाडौँ–नेपालगन्जः १३,१०३ रुपैयाँ
काठमाडौँ–धनगढीः १७,५७९ रुपैयाँ
काठमाडौँ–भैरहवाः ८,४६१ रुपैयाँ
काठमाडौँ–सुर्खेत स् ९,०३० रुपैयाँ
काठमाडौँ–तुम्लिङटारः ७,६३० रुपैयाँ
क्यानले स्पष्ट रूपमा भनेको छ कि स्वीकृत अधिकतम भाडादरभन्दा बढीमा टिकट बिक्री गर्ने कुनै पनि वायुसेवा कम्पनी, ट्राभल एजेन्सी वा टिकट बिक्रेता माथि कानुनी कारबाही गरिनेछ। तर उपभोक्ताहरूको गुनासो अनुसार, केही कम्पनीले तोकिएको भन्दा बढी मूल्यमा टिकट बेचेको उल्लेख गरिएको छ।
सरकार र क्यानको यो निर्णयले यात्रुको हितभन्दा वायुसेवा कम्पनीहरूको पक्षपोषण गरेको आरोप समेत लागेको छ। चाडबाडको व्यस्त समयमा हवाई यात्रा गर्नुपर्ने यात्रुहरू महँगो टिकट किनेर यात्रा गर्न बाध्य छन्।





.gif)



