काठमाडौँ । असोज १५, नेपालीहरूको महान चाड विजयादशमी तथा तिहार नजिकिँदै गर्दा तासको बजार पनि तातेको छ। दशैंतिहारमा आफन्त र परिवारजन सँग भेटघाट र मेलमिलापको साथसाथै तास खेल्ने परम्परा रहेको छ। यो परम्पराले सामाजिक सम्बन्धमा न्यानोपन ल्याउने विश्वास गरिए पनि पछिल्लो समय यसले जुवा खेलाउने प्रवृत्तिलाई समेत बढावा दिइरहेको छ।
दशैंको टीका लगाइसके पछि घर–घरमा दाजुभाइ, आफन्त तथा साथीभाइबीच तास खेल्ने चलन निकै पुरानो भए पनि अहिले यसलाई मनोरञ्जन भन्दा बाहिर गएर जुवाको रूपमा पनि हेरिन थालिएको छ। प्रहरीले पनि ठूलो रकमको खाल लगाएर खेलिने तास (जुवा) मा निगरानी बढाएको छ र त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने गरेको छ।
तर, यतिबेला तासको आयात भने उच्च दरमा भइरहेको छ। भन्सार विभागका अनुसार, चालू आर्थिक वर्ष २०८२ को साउन र भदौ महिनामा मात्र नेपालले विदेशबाट २९ लाख ३२ हजार ३५६ बट्टा तास आयात गरेको छ। जसबाट ९ करोड ९९ हजार रुपैयाँभन्दा बढी रकम नेपालबाट बाहिरिएको छ।
चीनबाट सबैभन्दा बढी आयात
तास आयातमा चीन सबैभन्दा अगाडि छ। दुई महिनाको अवधिमा चीनबाट मात्रै २८ लाख ७६ हजार ७९४ बट्टा तास नेपाल भित्रिएको छ। चीनबाट आयात गरिएको तासमा ८ करोड ३५ लाख २१ हजार रुपैयाँ खर्चिएको छ भने सरकारले त्यसबाट ५ करोड १७ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
त्यसपछि भारत दोस्रो ठूलो तास निर्यातकर्ता मुलुक बनेको छ। भारतबाट साउन र भदौ महिनामा ५५ हजार ५१८ बट्टा तास आयात गरिएको छ, जसमा ६५ लाख ५४ हजार रुपैयाँ खर्चिएको छ। भारतबाट आयात हुने तासबाट सरकारले २८ लाख ४२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
कोरिया, कुवेत, फिलिपिन्स, कतार, साउदी अरेबिया, युएईजस्ता मुलुकबाट पनि सानो परिमाणमा तास आयात भएको तथ्यांक विभागले जनाएको छ।
उत्पादनभन्दा आयातमै भर
नेपालमा तास उत्पादन नगन्य मात्रामा हुने भएकाले बजारमा पाइने अधिकांश तास विदेशबाटै आयात गरिन्छ। विशेषगरी साउन–भदौ महिनामा दशैं र तिहार लक्षित गरेर तासको आयात धेरै हुने गर्छ। तासको आयातले सरकारलाई राजश्व त तिर्छ, तर साथमा करोडौँ रुपैयाँ विदेशिने भएकाले दीर्घकालीन रूपमा स्वदेशमै उत्पादनका पहल आवश्यक देखिन्छ।




.gif)





