काठमाडौँ । असोज १३, निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ तथा नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका सालो भूषण राणाको निवासमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले आइतबार साँझ छापा मारेको छ।
सिआईबी स्रोतका अनुसार, छापाको क्रममा केही महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिइएका छन्। ती कागजातहरू स्रोत नखुलेको रकम र आर्थिक लेनदेनसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
छापा मारिएको बेला भूषण राणा घरमा थिएनन्। झण्डै एक महिना देखि युरोपमा रहेका उनी देशबाहिरै रहेको पुष्टि भएको छ। प्रहरीको टोलीले उनलाई नभेटी घरमै पुगेर कागजातहरू संकलन गरेको हो।
भूषण राणा माथि विगत देखि नै ठूला सरकारी ठेक्का र नियुक्तिमा प्रभाव विस्तार गर्दै आएको, साथै आरजु राणाको आर्थिक क्रियाकलापमा सहयोगी भूमिका निर्वाह गरेको भन्ने आरोपहरू उठ्दै आएका छन्।
सिआईबीका अनुसार अहिले संकलित कागजातहरूको अध्ययन भइरहेको छ। एक उच्च प्रहरी अधिकारीले जानकारी दिँदै भने, यदि प्रमाण पुष्टि भएमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।




.gif)





