काठमाडौँ । दशैं नजिकिंदै गर्दा, बाढी–पहिरो र लामो जामका कारण सार्वजनिक यातायात प्रयोग गर्न कठिन भएपछि धेरै यात्रुहरू अब मोटरसाइकल मार्फत लामो दूरीको यात्रा रोज्न थालेका छन्। विशेषगरी काठमाडौँ लगायत सहरबाट गाउँ फर्किनेहरू ठूलो संख्यामा मोटरसाइकल मै यात्रा गर्न थालेका छन्।
तर, मोटरसाइकलबाट लामो यात्रा गर्दा केही सावधानी अपनाउन जरुरी हुन्छ। प्राविधिक समस्याबाट जोगिन र सुरक्षित यात्रा सुनिश्चित गर्न यस्ता चार कुरामा विशेष ध्यान दिनु आवश्यक छः
१. इन्जिनको ख्याल राख्नुहोस्
लामो दूरीको यात्रा गर्दा लगातार बाइक चलाउँदा इन्जिनमा बढी लोड पर्न सक्छ। धेरैजसो यात्रु गन्तव्यमा चाँडो पुग्ने हतारमा विश्राम नलिईकन बाइक चलाइ रहन्छन्, जसले गर्दा इन्जिनको कार्यक्षमता घट्न सक्छ। त्यसैले यात्रामा निस्कनु अघि बाइकको सर्भिस गराउनु अत्यावश्यक हुन्छ। यसले सम्भावित समस्या पहिल्यै थाहा पाउन र समाधान गर्न सहयोग गर्छ।
२. बत्ती र इन्डिकेटर चेक गर्नुहोस्
रातको समयमा यात्रा गर्नु परेमा सुरक्षाका लागि बाइकका हेडलाइट, टेललाइट र इन्डिकेटरले राम्रोसँग काम गरिरहेको हुनुपर्छ। खराब बत्तीका कारण राति सवारी चलाउँदा दुर्घटना हुने जोखिम रहन्छ। त्यसैले यात्रा सुरु गर्नु अघि सबै बत्ती परीक्षण गर्नुहोस् र आवश्यक परेमा फेर्नुहोस्।
३. सामान कसरी राख्ने?
मोटरसाइकलमा धेरै सामान अटाउँदैन भन्ने चिन्ता हुन्छ। तर, आजकाल बजारमा पाइने विभिन्न किसिमका लगेज बक्स, ट्राभल ब्याग र बलियो डोरी प्रयोग गरी सामान सुरक्षित रूपमा बाँध्न सकिन्छ। यात्राका लागि आवश्यक लुगाफाटा, प्राथमिक उपचार सामग्री, मोबाइल चार्जर जस्ता सामग्री व्यवस्थित तरिकाले राख्न सकिन्छ।
४. यी थप सामग्री पनि साथमा राख्नुहोस्
बाइकको इमर्जेन्सी अवस्थालाई ध्यानमा राख्दै पङ्चर मर्मत किट, अतिरिक्त पेट्रोल राख्न मिल्ने जेरी क्यान, लाइट र केही खानेकुरा पनि साथमा राख्नुहोस्। मोबाइल चार्जका लागि पावर बैंक, रेनकोट वा पञ्जा पनि उपयोगी हुन सक्छन्।
बाढी–पहिरो र जामका कारण गन्तव्य सम्म समयमै पुग्न कठिन भइरहेका बेला बाइकले विकल्प दिन सक्छ। तर, यात्रा सुरक्षापूर्वक र सहज बनाउन यी चार बुँदामा ध्यान दिनु आवश्यक छ।




.gif)





