काठमाडौँ । असोज ११, शिखर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा भएको हुलदंगा तथा आगजनीबाट क्षतिग्रस्त सम्पत्तिका ४० भन्दा बढी विमितलाई हालसम्म झण्डै ३० करोड रुपैयाँ बीमा भुक्तानी गरेको जनाएको छ।
कम्पनीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दाबी भुक्तानी प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउनका लागि विशेष पहल गरिएको जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “दाबी प्रक्रिया सरल बनाउन डिजिटल सेवा, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गर्दै आएका छौं।”
शिखर इन्स्योरेन्सका अनुसार, राष्ट्र पुनर्निर्माणको यात्रामा सहकार्य गर्दै ग्राहकले भोगेको आर्थिक क्षति तुरुन्त राहतस्वरूप भुक्तानी दिइएको हो। कम्पनीले सर्भेयर तथा कर्मचारी परिचालन गरी क्षतिको मूल्याङ्कन गर्दै ग्राहकलाई प्रत्यक्ष सहजीकरण समेत गरेको जनाएको छ।
यसअघि पनि २०७२ को भूकम्प र पछिल्ला बाढीपहिरोमा पारदर्शी र द्रुत दाबी भुक्तानी प्रदान गरेको अनुभव राखेको शिखर इन्स्योरेन्सले आगामी दिनमा अझ प्रभावकारी सेवाका साथ ग्राहकको विश्वास जित्न कटिबद्ध रहेको जनाएको छ।




.gif)





