काठमाडौँ । असोज ९, दसैँ पर्व नजिकिँदै गर्दा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानमा उल्लेखनीय वृद्धि भएको छ। श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरका अनुसार विगत दुई दिन देखि हवाई उडानको चाप उल्लेख्य रूपमा बढेको छ। सोही कारण भैरहवा र भरतपुर गन्तव्यमा दुई।दुई अतिरिक्त उडान थप गरिएको जानकारी दिइएको छ।
मानन्धरका अनुसार हाल काठमाडौँबाट बाहिरिने यात्रुको संख्या उच्च भएको छ भने फर्किने यात्रु कम देखिएकाले हवाई भाडा केही महँगिएको छ। श्री एयरलाइन्सले अहिले दैनिक दुईतर्फी करिब ५० उडान सञ्चालन गरिरहेको छ। उहाँले बुधबार देखि शुक्रबार सम्म नियमित उडान भएमा आन्तरिक उडान व्यवस्थापन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार हाल देशभर आन्तरिकतर्फ दैनिक ३४० भन्दा बढी उडान हुँदै आएका छन्। अन्तर्राष्ट्रिय उडानतर्फ पनि आवागमनमा वृद्धि भई दैनिक दुईतर्फी ११० भन्दा बढी उडान भइरहेको छ। हाल विदेशबाट नेपाल आउने यात्रुको संख्या समेत बढ्दै गएको जनाइएको छ।
दशैँ, तिहार, छठ लगायत चाडपर्वका अवसरमा यात्रुहरूलाई सहज हवाई सेवा उपलब्ध गराउन क्यानले वायुसेवा कम्पनीहरूलाई पथ उडान अनुमतिका लागि सहजीकरण गरिरहेको जनाएको छ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ः०० बजेदेखि राति १ः०० बजेसम्म सञ्चालनमा रहेको छ। आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनी सहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् भने अन्तर्राष्ट्रिय क्षेत्रमा तीन नेपाली सहित ३० हवाई कम्पनीले नियमित उडान गर्दै आएका छन्।




.gif)





