गोरखा— गोरखा–आरुघाट सडक खण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ। गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनु परेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारी साधन सञ्चालनमा सहज भएको हो।
तनहुँ सडक डिभिजन कार्यालयले गत वैशाख महिनामा पहिरो रोकथामको सबै काम सम्पन्न गरे सँगै यस पटकको बर्खामा कुनै समस्या नभएको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।
‘बर्खामा पानी पर्ने बित्तिकै सधैंजसो सडक भासिने, माटो बग्ने र सवारीसाधन आवागमन अवरुद्ध हुने गरेको भए पनि त्यहाँको पहिरोले यसपटक अहिलेसम्म कुनै दुःख दिएन,’ उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा पहिरो रोमथाममा भएको देखिन्छ, यसपालिको बर्खामा यात्रीले विगतका वर्षमा जस्तो हैरानी भोग्नुपरेको छैन।’
जुगेपानीमा करिब एक सय मिटर सडक हरेक वर्ष बर्खामा पानी परेपछि जमिन भासिने, माटो बग्नेलगायत समस्या हुँदै आएको थियो। भू–गर्भविद्सहितको इन्जिनियर टोलीले पहिरो नियन्त्रणका लागि गहिरो अध्ययन गरी करिब एक वर्ष लगाएर नियन्त्रणको काम सम्पन्न गरेको हो।
पहिरो रोमथाममा आएपछि गोरखा सदरमुकामबाट उत्तरी गोरखाको धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बासिन्दालाई आवतजावत सजिलो भएको छ।
जुगेपानीको पहिरो रोमथाम गर्न तनहुँ सडक डिभिजन कार्यालय मार्फत रु तीन करोड ४५ लाख ४१ हजार नौ सय ९८ खर्च भएको कार्यालयले जनाएको छ। कार्यालयले बोलपत्र प्रक्रियामार्फत पहिरो रोमथाम गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको थियो।
विशेष प्रविधिबाट जमिनलाई सुक्खा बनाएर जमिनको पानीलाई पाइपमार्फत निकासा गरी जुगेपानी पहिरो नियन्त्रणको काम गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर हरिबहादुर लामाले जानकारी दिए।
आउँदो एक वर्ष सम्मका लागि पहिरो गइरहेको ठाउँमा सडक ग्राभेल मात्र छाडिएको र थप ‘सेटल’ भएपछि सडक कालोपत्र गरिने उनको भनाइ छ।




.gif)





