काठमाडौँ । असोज ६, पोखराका पर्यटन व्यवसायीहरूले हालै उत्पन्न संकट र समस्याबारे अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको नेतृत्वमा गएको टोलीले सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेट गरी पर्यटन क्षेत्रको पुनः उत्थानका लागि पहल गर्न आग्रह गरेको हो।
भेटका क्रममा व्यवसायीहरूले हालैको ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड तथा लुटपाटले पर्यटन क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्दै पीडित व्यवसायीलाई क्षतिपूर्ति दिन र दोषीमाथि कडा कारबाही गर्न माग गरे।
“पर्यटन याम सुरु हुन लागेको बेला यस्ता घटना हुनु दुर्भाग्यपूर्ण हो,” ध्यानाकर्षण पत्रमा उल्लेख छ, “पर्यटकहरूले भ्रमण प्याकेज र बुकिङ रद्द गरिरहेका छन्, जसले व्यवसायहरू थप संकटमा पारेको छ।”
व्यवसायीहरूको मागअनुसार उनीहरूले लिएका ऋणको ब्याज र किस्ता तिर्न चैत मसान्त सम्म असमर्थ हुने अवस्था देखिएकोले किस्ता र ब्याज तिर्ने म्याद थप गर्न र त्यसमा कुनै जरिवाना नलिन सरकार सँग अनुरोध गरिएको छ।
साथै, व्यवसाय सञ्चालन गर्न थप सहुलियत सहितको कर्जा सुविधा उपलब्ध गराउन, पर्यटन कर्जाको अवधि कम्तीमा २५ वर्ष पुर्याउन, र साना तथा मझौला व्यवसायका लागि शून्य ब्याजदरमा रु १५ लाख सम्मको जीवन रक्षा कर्जा उपलब्ध गराउन पनि माग गरिएको छ।
परिषद्ले मूल्य अभिवृद्धि कर घटाउन, हवाई टिकट र पदयात्रामा लाग्दै आएको तत्काल खारेज गर्न, पदयात्रा अनुमति शुल्क पुनरावलोकन गर्न, र कोराला नाका सञ्चालनका लागि आवश्यक पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ।
भेटवार्तामा परिषद्का पूर्व अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, नाट्टा गण्डकी प्रदेश अध्यक्ष किशोर दाहाल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने लगायतको सहभागिता रहेको थियो।
परिषद्का अध्यक्ष पहारीका अनुसार यसअघि आइतबार टोलीले राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी सँग पनि भेट गरी पर्यटन क्षेत्रको पुनः उत्थानबारे छलफल गरेको थियो।




.gif)





