images

२०८३ आश्विन १८ गते

images
images
images

जेनजी आन्दोलनको क्रममा रौतहटमा ४४ करोड रुपैयाँभन्दा बढीको क्षति

जेनजी आन्दोलनको क्रममा रौतहटमा ४४ करोड रुपैयाँभन्दा बढीको क्षति

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • रौतहट । गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा रौतहटमा सरकारी तथा निजी गरी ४४ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सम्पत्ति नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ ।आन्दोलनका क्रममा रौतहटमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा २४ जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार झडपमा १९ जना प्रहरी कर्मचारी र ५ जना सर्वसाधारण सामान्य घाइते भएका हुन् ।

    images
    images

    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ ढुंगामुढा र आगजनीका क्रममा १ जना डीएसपी, २ जना इन्स्पेक्टर, २ जना सई, ४ जना असई, १ जना वरिष्ठ हवलदार, ४ जना हवलदार, १ जना सहायक हवलदार र ४ जना जवान घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।आन्दोलन नियन्त्रणको क्रममा प्रहरीले चन्द्रनिगाहपुर क्षेत्रमा मात्रै १२१ राउन्ड अश्रुग्याँस प्रहार, आगलागीमा परेर ९५ राउन्ड गोली जलेको र ७१ राउन्ड प्रत्यक्ष फायर गरेको समेत प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

    प्रहरी कार्यालयमा क्षति

    images
    images

    आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१झ १३२१ को महेन्द्रा स्कार्पियोसहित प्रहरीका ११ वटा सवारी साधन पूर्ण रूपमा जलेका छन् भने ५ वटा आंशिक र १ वटा सामान्य क्षतिग्रस्त भएको छ । यसको मूल्य करिब ६३ लाख ४४ हजार रुपैयाँ रहेको डीएसपी कार्कीले जानकारी दिए ।त्यस्तै, आन्दोलनका क्रममा प्रहरी कार्यालयमा रहेको १२ वटा हेलमेट, ४० वटा लाठी, २२ वटा शिल्ड, १५ वटा राइट कन्ट्रोल, १० वटा हतकडी, २ वटा साबेल, २ वटा कोदालो, २३ वटा बेरेट क्याप, ९ वटा बेल्ट, १९ मिटर सर्ट कपडा र ३५ मिटर उनी कपडा क्षति भएको विवरणमा उल्लेख छ ।

    सरकारी कार्यालयमा क्षति

    तोडफोड र आगजनीका कारण विभिन्न सरकारी कार्यालयमा मात्र ३६ करोड ३ लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।

    • गौर नगरपालिका: करिब ६४ लाख
    • जिल्ला प्रशासन कार्यालय गौर: ९ लाख
    • जिल्ला अदालत गौर: ५० हजार
    • राष्ट्रिय अनुसन्धान कार्यालय गौर: ७५ हजार
    • करदाता सेवा कार्यालय गौर: ९ लाख
    • कारागार कार्यालय गौर: ५० हजार
    • चन्द्रपुर नगरपालिका: ३ करोड
    • सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरः ६ करोड
    • वन डिभिजन कार्यालय चन्द्रनिगाहपुरः २ करोड ५० लाख
    • प्रदेश लेखा इकाई कार्यालय चन्द्रनिगाहपुरः २ करोड ६० लाख

    अरू कुन कार्यालयमा कति क्षति ?

    मौलापुर नगरपालिकामा मात्रै २ वटा स्कार्पियो, १ जेसीबी र १ ट्याक्टर जलेर ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । वृन्दावन नगरपालिका १ नम्बर वडा कार्यालयमा १६ लाख, वडा नम्बर ८ को कार्यालयमा ८ लाख १४ हजार ३ सय, कटहरिया नगरपालिकाको १ करोड ७४ लाख २८ हजार ४ सय, फतुवा विजयपुर नगरपालिकामा आगजनी तथा तोडफोड गर्दा २ करोड, बौधिमाई नगरपालिकाको १ करोड ६८ लाख २२ हजार ६७५, माधव नारायण नगरपालिकामा ८ लाख ६१ हजार १४०, गुजरा नगरपालिका ४ को वडा कार्यालयको ५० हजार गरी ३६ करोड ३ लाख ४५ हजार ९ सय ६५ रुपैयाँ सरकारी कार्यालयमा अनुमानित क्षति पुगेको छ  ।

    • निजी सम्पत्तिमा क्षति

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सम्पत्तिमा करिब ४५ लाख, प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमिल्सिनाको २ करोड ६० लाख, प्रदेश सांसद युवराज भट्टराईको ५ हजार, सहायक सीडीओ किरणनिधि तिवारीको ६७ लाख, चन्द्रपुर नगर प्रमुख सञ्जय काफ्लेको ५० लाख, मौलापुर नगर प्रमुख रीना साहको ५ हजार, गरुडा नगर प्रमुख कन्थमणि जायसवालको ३ करोड ८९ लाख ४९ हजार ५००, फतुवा विजयपुरका कार्यवाहक मेयर अम्बेया खातुनको ३० लाख र अन्य मिलाएर ८ करोड ४२ लाखभन्दा बढीको व्यक्तिगत सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend