काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैँ आजबाट विधिवत रूपमा सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि सुरु हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म श्रद्धा र उत्साहका साथ मनाइन्छ।
बडादशैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज देशभरका घरघरमा पूजा कोठा वा दशैँ घरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना सहित देवी दुर्गाको आह्वान गरी पूजाआरम्भ गरिएको छ।
बिहानै नित्यकर्म सम्पन्न गरी नजिकको नदी, खोला वा चोखो स्थलबाट ल्याइएको माटो तथा बालुवा गाईको गोबरले लिपपोत गरिएको स्थानमा राखी त्यहीँ जमरा रोप्ने परम्परा अनुसार यव रोपिएको छ। समृद्धि र विजयको प्रतीक मानिने पहेंलो जमरा दशमीका दिन दुर्गा देवीलाई चढाइने र टीका–प्रसाद सँगै ग्रहण गरिने चलन छ।
आजैको दिन शक्तिकी अधिष्ठात्री दुर्गाको प्रतीक स्वरूप घटमा जल राखी पूजा–आराधना गरिने भएकाले यो दिनलाई ‘घटस्थापना’ भनिन्छ। घटस्थापनाको विशेष साइत बिहान ९ः१३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
यस पर्वको अवसरमा देशभरका मठमन्दिरहरूमा समेत पूजापाठ सुरु गरिएको छ भने सर्वसाधारणले घरघरमा देवीको आशीर्वाद प्राप्त गर्न धार्मिक कार्यहरूमा संलग्नता जनाएका छन्।




.gif)





