चितवनः चितवनमा मह बिक्री नभएपछि किसानले आफैँ ब्राण्डिङ गरेर बजार लैजाने भएका छन्। असोजदेखि बजारमा ल्याउने गरी किसानले महको एकीकृत ब्राण्डिङ गर्ने भएका हुन्।
नेपाल मौरीपालक महासंघका सल्लाहकार ध्रुवतारा लामिछानेका अनुसार किसानले उत्पादित मह आफ्नै ब्राण्डिङमा बजारमा ल्याउने गरी तयारी थालिएको छ।
नेपालमा महको पर्याप्त उत्पादन हुँदाहुँदै बाहिरबाट आयात हुने क्रम बढ्दो छ। त्यसलाई रोक्न किसानले नै महको ब्राण्डिङ गर्न लागेको उनले बताए।
एकीकृत ब्राण्डका लागि प्रारम्भिक चरणमा ५० किसानले सेयर राखेर काम सुरु गर्न थालेको सल्लाहकार लामिछानेले बताए। किसानको सङ्ख्या एक सय जनासम्म पुर्याउने गरी तयारी गरिएको उनले जानकारी दिए।
किसानले तत्काल एक करोड लगानी गरेका छन्। लगानीलाई १० करोडसम्म पुर्याउने लक्ष्य राखिएको सल्लाहकार लामिछानेले बताए।
समा मह, पराग, बी ग्रेड, रोयल जेभी, करपोलिसलगायत क्षेत्रमा काम गरिने छ। एकीकृत ब्राण्डिङ अन्तर्गत चिउरी, दुधिलो, तोरी लगायत महलाई मिश्रण गरी ब्राण्डिङ गरिनेछ।
त्यसबाहेक छुट्टाछुट्टै उत्पादन पनि बजारमा ल्याउने तयारी किसानको छ। नेपाल मौरीपालक किसान (एनबिके) नामबाट आफूहरूले ब्राण्ड स्थापित गराउन खोजेको सल्लाहकार लामिछानेले बताए।
पछिल्लो समय बाहिरबाट आएको कम गुणस्तरको मह सस्तोमा उपलब्ध हुँदै आएको छ। तर नेपालका किसानले उपभोक्तालाई गुणस्तरीय मह सर्वसुलभ मूल्यमा उपलब्ध गराउन ब्राण्डिङ अत्यावश्यक छ। किसानको तर्फबाट पहिलोपटक महको ब्राण्डिङ गर्न थालिएको हो।
एकीकृत ब्राण्डिङका लागि किसान सरकारबाट अनुमति लिने तयारीमा छन्। मौरीपालक महासंघमार्फत महको प्रशोधन र भण्डारणका लागि भवन निर्माण गरिसकिएको छ। यसका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट सहयोग भइरहेको छ।
मौरी जोन कार्यक्रममार्फत यस वर्ष महको ब्रण्डिङका लागि १५ लाख विनियोजन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मीले जानकारी दिए। यस ब्राण्डिङबाट बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न सहज हुने उनले बताए।
महासंघका अनुसार नेपालमा वार्षिक दुई हजार एक सय मेट्रिक टन मह खपत हुँदै आएको छ। तर नेपालमा उत्पादन भने एक हजार ६ सय मेट्रिक टन हुने किसान बताउँछन्। यद्यपि नेपाली उत्पादनले स्वदेशलाई नपुगे पनि किसानको मह बिक्री हुन नसकेको सल्लाहकार लामिछानेले बताए।
उनका अनुसार किसानको दुई सय मेट्रिक टन मह बिक्री हुनसकेको छैन। अहिले किसानले प्रतिकिलो चार सय रुपैयाँमा मह बिक्री गर्दै आइरहेका छन। यो मूल्यले किसानको लागतसमेत नउठ्ने उनी बताउँछन्। रासस




.gif)





