पोखरा । जेनजीको प्रदर्शनका क्रममा प्रमुख प्रशासकीय भवन जलेर नष्ट भएपछि पोखरा महानगरले अन्यत्रैबाट सेवा दिने भएको छ । महानगरले असोज १ गतेदेखि कार्यालय सञ्चालनको घोषणा यसअघि नै गरिसकेको छ । तर सेवा प्रवाह पुरानै भवनबाट सम्भव नहुने भएपछि विभिन्न ठाउँमा कार्यालय सारिएको हो । महानगरपालिकाले सूचना जारी गर्दै सेवा प्रवाह हुने वैकल्पिक कार्यालयहरूबारे जानकारी दिएको छ ।
कुन सेवा कहाँबाट दिने ?
प्रमुख प्रशासनिक काम हालको दमकल भएको कार्यालयबाट सञ्चालन गर्न लागिएको छ । यो कार्यालय शान्ति वन बाटिका नजिक छ । यहाँ मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष बनाउन लागिएको हो । यस्तै, सार्वजनिक लेखा समिति, कानुन महाशाखा, सरसफाइ र सूचना प्रविधि शाखाको काम पनि दमकलकै कार्यालयबाट हुनेछ । सेवाग्राहीको बढी भीड हुने महाशाखाहरू पोखरा सभागृहमा सारिएको छ ।
सभागृहबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष सहित प्रशासन महाशाखा, राजस्व महाशाखा, सहरी विकास महाशाखा, भण्डार, तथ्याङ्क, विपद् व्यवस्थापन, अभिलेखीकरण, पञ्जीकरण, लेखा, महानगर प्रहरीको शाखा यहाँबाट चल्नेछ ।
शिक्षा महाशाखा भएको भवनबाट शिक्षासँगै आर्थिक प्रशासन महाशाखा र कोष प्रशासन शाखा पनि सञ्चालन हुनेछ । सामाजिक विकास महाशाखा हालकै अवस्थामा सञ्चालन हुनेछ । अहिले रहेको पूर्वाधार विकास महाशाखाबाट पूर्वाधारसँगै योजना, आलेप, भूमि प्रशासन र खरिद शाखा सञ्चालन गरिने महानगरका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार आर्थिक विकास महाशाखाबाट आर्थिकसँगै, सहकारी, श्रम तथा रोजगार र व्यवसाय प्रवर्द्धन केन्द्रका काम गरिने छ ।
मुख्य प्रशासनिक भवनमा भएको क्षतिका कारण सेवा प्रवाहमा उत्पन्न भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै महानगरले अर्को व्यवस्था नभएसम्मका लागि यो निर्णय गरेको हो तिमिल्सिनाले जानकारी दिए । यसबारे महानगरको शनिबार सम्पन्न भर्चुअल बैठकबाट निर्णय गरिएको थियो । साथै, महानगर भित्रका विद्यालय समेत असोज १ गतेदेखि नियमित सञ्चालनका लागि अपिल गरेको छ ।




.gif)





