काठमाडौँ । भदौ २७, बिमा प्राधिकरणले हालै उत्पन्न असहज परिस्थितिका कारण भएका क्षतिहरूको दाबी छिटो फर्छ्यौट गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ।
भदौ २३ गतेदेखि देखिएको अस्थिर परिस्थितिका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ। यस सन्दर्भमा प्राधिकरणले बिहीबार एक निर्देशन जारी गर्दै बिमा कम्पनीहरूलाई दाबीको विवरण संकलन गरी यथासक्य छिटो फर्छ्यौट गर्न र प्राप्त विवरण तुरुन्त प्राधिकरणमा पठाउन आग्रह गरेको हो।
प्राधिकरणको निर्देशनमा भनिएको छ, “बिमितको धनसम्पत्तिमा भएको क्षति तथा त्यसबाट सिर्जिएको असहजतालाई मध्यनजर गर्दै दाबीहरूलाई सहज र शीघ्र रुपमा फर्छ्यौट गर्नुहोला।”
यद्यपि बिहीबारसम्म कुनै पनि बिमा कम्पनी खुलेका छैनन्। त्यसैले हालसम्म कति सम्पत्तिको बिमा गरिएको थियो र कति रकम बराबरको दाबी परेको छ भन्ने यकिन तथ्यांक आउन सकेको छैन। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेकाले दाबीको वास्तविक अवस्था अझै स्पष्ट भइसकेको छैन।
प्रदर्शन र अशान्तिका कारण विभिन्न संरचनामा भएको क्षतिको मूल्यांकन गर्न बिमा कम्पनीहरूले चाँडै काम सुरु गर्ने अनुमान गरिएको छ।




.gif)





