काठमाडौँ । भदौ १२, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मार्फत अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया सम्म उडान भर्ने तयारी गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, सिचुवान एयरलाइन्सले पोखराबाट अस्ट्रेलिया उडानको अनुमति मागेको छ। “छेन्दु हुँदै अस्ट्रेलिया जाने योजना अनुसार अनौपचारिक छलफल भइसकेको छ,” उनले भने, “आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी भइरहेको छ।”
सिचुवान एयरलाइन्सले आगामी सेप्टेम्बर महिना देखि उडान सुरु गर्ने योजना बनाएको छ। यदि अनुमति प्रदान भएमा यो उडान अस्ट्रेलिया जाने नेपाली यात्रुहरूका लागि निकै सहज हुने विश्वास लिइएको छ।
यस अघि सिचुवान एयरलाइन्सले २०८० साल असार ६ गते पोखरा विमानस्थलमा पहिलोपटक चार्टर्ड उडान गरेको थियो। ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ को अवसरमा चिनियाँ खेलाडी र पर्यटकलाई ल्याउनका लागि चार्टर्ड उडान गरिएको थियो।
पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, हाल सम्म हिमालय एयरलाइन्सले मात्रै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। यद्यपि सिचुवान र भूटान एयरलाइन्सको तयारी सँगै विमानस्थल थप सक्रिय हुने अपेक्षा गरिएको छ।
यसैबीच, भूटानको निजी वायुसेवा कम्पनी ‘भूटान एयरलाइन्स (टासी)’ ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरिरहेको छ। कम्पनीले सेप्टेम्बर २८ र अक्टोबरमा पोखराबाट भूटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल सम्म यात्रु उडानको अनुमति मागेको छ।
भूलका अनुसार, चार्टर्ड उडान सफल भएमा भूटान एयरलाइन्सले आगामी दिनमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडानको योजना बनाएको छ। यसका लागि फिफ्थ फ्रिडम फ्लाइट अन्तर्गत अनुमति दिइने बताइएको छ।
हाल हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं मार्गमा हप्तामा एक दिन मात्र नियमित उडान गर्दै आएको छ।
प्राधिकरणको विश्वास छ, सिचुवान, भूटान र हिमालय एयरलाइन्सको उडानले पोखरा विमानस्थल चलायमान हुने मात्र नभई, यात्रुका लागि अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्न थप सहजता ल्याउनेछ।




.gif)





