एजेन्सी । इजरायली सेनाले चीनमा बनेका सबै गाडीहरूलाई आफ्नो अड्डामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।ती गाडीहरूमा सेन्सर र क्यामरामार्फत गुप्तचरी हुन सक्ने इजरायली सेनाले आशंका गर्दे प्रतिबन्ध लगाएको हो ।इजरायल नेशनल न्युजका अनुसार, चिनियाँ गाडी किनेका बहालवाला सैनिक अधिकृत र गैरसैन्य कर्मचारीहरूलाई सैन्य अड्डाभन्दा बाहिर पार्किङ गर्न निर्देशन दिइएको छ ।
ती गाडीहरूमा भएको निगरानी प्रणालीमार्फत सेनाको गोप्य सूचना चुहिन सक्ने जोखिम रहेको भन्दै इजरायली सेनाले यो निर्णय लिएको हो ।यसअघि इजरायली सेनाले जिरिफिन नामक स्थानमा रहेको गिडियोनिम सिग्नल कोर्प्स अड्डाको परिसरमा चिनियाँ गाडीहरू पार्किङमा प्रतिबन्ध लगाएको छ । सवारीधनीहरूलाई संवेदनशील क्षेत्रभन्दा परै निश्चित ठाउँमा कार छोडेर आउन भनिएको थियो ।
गत जुलाई महिनाको आरम्भतिर इजरायलको रक्षा मन्त्रालयले चिनियाँ विद्युतीय गाडीहरूमार्फत महत्त्वपूर्ण सूचना चुहिन सक्ने जोखिम रहेको स्वीकार गरेको थियो । इजरायली सेनाका अधिकृतहरूले चिनियाँ गाडी किन्नै छोडेका छन् ।इजरायली सेनाका लेफ्टिनेन्ट कर्नेलहरूले बीवाईडी एट्टो ३ विद्युतीय गाडीहरू किन्न खोजेका थिए तर त्यस गाडीको विद्युतीय प्रणालीको छानबिनपश्चात् गाडी नकिन्ने निर्णय गरे ।सूचना चुहिने जोखिमलाई न्यूनीकरण गर्नका लागि ती गाडीहरूबाट ईकल सिस्टम भनिने स्वचालित आकस्मिक सेवा सम्पर्क फिचर जबर्जस्ती हटाइएको थियो ।
तर, यो पर्याप्त नभएको विज्ञहरूको भनाइ छ । इजरायली सुरक्षा निकाय शिन बेटमा साइबर डिभिजनका संस्थापक डा हारेल मेनाश्रीले चिनियाँ गाडी गोप्य सूचना संकलन गर्ने साधन हुन् । तिनीहरूले अडियो, भिडियो, जियोलोकेशन र बायोमेट्रिक डेटा संकलन गरेर चिनियाँ सर्भरलाई पठाउने गरेको मेनाश्रीको भनाइ छ ।चिनियाँ गाडीमा बन्देज लगाउने इजरायल पहिलो मुलुक हैन । सन् २०२५ को आरम्भमा बेलायतले पनि सैन्य अड्डामा चिनियाँ गाडीको प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।काठमाडौंमा रहेको भारतीय दूतावासको परिसरमा पनि चिनियाँ विद्युतीय गाडीहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।




.gif)





