काठमाडौँ, ३१ साउन–चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना (साउन)मा सरकारले रु ८५ अर्ब १९ करोड आम्दानी गरेको छ भने सो अवधिमा रु ४६ अर्ब ३० करोड खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, यो आम्दानी वार्षिक लक्ष्यको ५.५६% हो भने खर्च २.३६% मात्रै हो।
सरकारले चालु आर्थिक वर्षमा रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। साउन मसान्त सम्ममा कर राजस्वबाट रु ८० अर्ब ६७ करोड (६.०९%) र गैरकर राजस्वबाट रु ३ अर्ब ७९ करोड ५० लाख (२.४६%) संकलन भएको छ। त्यस्तै, वैदेशिक अनुदानबाट रु ४२ करोड १९ लाख र अन्य स्रोतबाट रु ३० करोड ८९ लाख प्राप्त भएको छ।
यस वर्षको लागि सरकारको कर राजस्व लक्ष्य रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख, गैरकर राजस्व लक्ष्य रु १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख, र वैदेशिक अनुदान लक्ष्य रु ५३ अर्ब ४४ करोड ६९ लाख रहेको छ।
साउन मसान्तसम्ममा कुल रु ४६ अर्ब ३० करोड ६१ लाख खर्च भएको छ। चालुतर्फ विनियोजित रु ११ खर्ब ८० अर्ब ९८ करोडमध्ये १.५६% अर्थात् रु १८ अर्ब ४७ करोड ९८ लाख खर्च भएको हो। पुँजीगत खर्च अत्यन्तै न्यून छ—विनियोजित रु ४ खर्ब ७ अर्ब ८८ करोड मध्ये मात्र ०।१८% अर्थात् रु ७२ करोड ६३ लाख खर्च भएको छ।
साउनमा सबैभन्दा बढी खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ। यस शीर्षकमा विनियोजन भएको रु ३ खर्ब ७५ अर्ब २४ करोड २० लाखमध्ये ७.२२५ अर्थात् रु २७ अर्ब १० करोड खर्च भएको छ।




.gif)





