काठमाडौँ, ३० साउन–सरकारको तर्फबाट आर्थिक वर्ष २०८१।८२ मा कुल रु १५ खर्ब ८ अर्ब ११ करोड बराबरको खर्च भएको छ। अघिल्लो आव २०८०।८१ मा यो खर्च रु १४ खर्ब ८ अर्ब ७६ करोड रहेको थियो। चालु खर्चतर्फ ८५.९५ प्रतिशत अर्थात् रु ९ खर्ब ८० अर्ब ३८ करोड खर्च गरिएको छ भने पुँजीगत खर्च ६३.२ प्रतिशत अर्थात् रु २ खर्ब २२ अर्ब ६८ करोड पुगेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा सार्वजनिक विवरण अनुसार वित्तीय व्यवस्थातर्फ ८७.८७ प्रतिशत अर्थात् रु ३ खर्ब २० अर्ब ४ करोड खर्च गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा क्रमशः चालु खर्च २.९४ प्रतिशत र पुँजीगत खर्च १६.१५ प्रतिशतले वृद्धि भएको देखिन्छ।
वार्षिक खर्च लक्ष्यको ८१.८७ प्रतिशत उपयोग भएको छ। राजस्व संकलनतर्फ कर राजस्व लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत पुगेको छ। कुल राजस्व संकलन रु ११ खर्ब ७८ अर्ब ८२ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.४१ प्रतिशतले बढी हो।
कर राजस्वमा १३.२५ प्रतिशत र गैरकर राजस्वमा २८.८ प्रतिशत वृद्धि भएको छ। आयात निर्यात पक्षमा पनि उल्लेखनीय वृद्धि देखिएको छ, आयात रु १८ खर्ब ४ अर्ब १२ करोड र निर्यात रु २ खर्ब ७७ अर्ब ३ करोड रहेको छ। यसरी, कुल व्यापार घाटा रु १५ खर्ब २७ अर्ब ९ करोड पुगेको छ।
अघिल्लो वर्षको तुलनामा आयातमा १३.३ प्रतिशत र निर्यातमा ८१.८ प्रतिशतले वृद्धि भएको छ, जसले नेपालको व्यापारिक गतिविधिमा सुधार भए पनि व्यापार घाटा अझै गम्भीर चुनौती रहेको संकेत गर्दछ।




.gif)





