काठमाडौँः भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१२ तुर्के पुल–साम्पाङ–फाली दोबाटो सडकको कालोपत्रेको काम तीव्र गतिमा अगाडि बढ्दैछ। कोशी प्रदेश सरकारको ५१ करोड ६२ लाख रुपैयाँको लागतमा सुरु गरिएको सडक कालोपत्रे हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको छ।
पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार अस्फाल्ट प्रविधिबाट निर्माण भइरहेको यो २० किलोमिटर लम्बाइको सडकमा हालसम्म ११ किलोमिटर कालोपत्रे कार्य सम्पन्न भइसकेको छ।
षडानन्द नगरप्रमुख सुरेन्द्रकुमार उदासले सडक निर्धारित समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न नगरपालिका सक्रिय रहेको बताए। वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार सडक कालोपत्रे भएपछि उत्तरी क्षेत्रका स्थानीयवासीलाई यातायात, कृषि उपजको बजारीकरण लगायतमा सहजता हुने अपेक्षा गरिएको छ।
कोभिड महामारीलगायतका कारण ढिलाइ भए पनि निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ। सडक निर्माण कार्य लामा–बानियाँ जेभी कम्पनीले गरिरहेको छ र यो २०८२ कात्तिकभित्र सम्पन्न हुने लक्ष्य छ।




.gif)





