ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा दोब्बरले वृद्धि भएको हो । वित्तीय विवरण अनुसार गत आवमा यो कम्पनीले २३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १२१.९१ प्रतिशतले धेरै हो । लघुवित्तले अघिल्लो आर्थिक वर्षमा १० कराड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ६३ करोड १४ लाख रुपैयाँबाट बढेर ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ७० करोड ४४ लाख रुपैयाँबाट बढेर ८४ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
वित्तीय विवरण अनुसार लघुवित्तको सञ्चालन नाफा अघिल्लो वर्ष १८ करोड ३८ लाख रुपैयाँ रहेकोमा गत वर्ष ८३.८५ प्रतिशतले बढेर ३३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यससँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १७.१६ रुपैयाँबाट दोब्बरभन्दा धेरैले बढेर ३८.११ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) १७ करोड १७ लाख रुपैयाँ रहेको छ ।६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड ३९ लाख रुपैयाँ रहेको छ ।




.gif)



